देवचुली,
देवचुली नगरपालिकाको वडा नं १५ प्रगतिनगरमा अवस्थित जनज्योति आदर्श बहुमुखी क्याम्पसको १७ औं वार्षिकोत्सव तथा दोस्रो क्याम्पस सभा कार्यक्रम सम्पन्न भएको छ । शनिबार क्याम्पसको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि १७ औं वार्षिकोत्सब सम्पन्न भएको छ । देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दयाराम तिवारीले गर्नुभएको थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख पशुपति भट्टराईले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै उहाँले कार्यक्रममा बोल्दै क्याम्पसले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदानका लागि क्याम्पस अनवरात रुपमा खटिरहेको बताउनुभयो । स्थानीय स्तरमा रहेको क्यामपसलाई यहाँका अभिभावक र विद्यार्थीले बुझ्न आवश्यक रहेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहनुभएका देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले देवचुली नगरपालिका भित्र रहेको जनज्योति आदर्श बहुमूखी क्याम्पस पालिकाकै शैक्षिक धरोहर रहेको उल्लखे गर्दै यसलाई निरन्तरता दिनका लागि पालिकाले पनि सहयोग गर्ने विषयमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जनज्योति बहुमुखी क्याम्पस समितिका सदस्य होमनाथ जैसि, सामुदायिक विद्यालयको तर्फबाट भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक अग्निधर भुसाल, जनज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ बस्याल, संघसंस्थाको तर्फबाट प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, क्याम्पस संचालक समितिका सदस्य प्रितम भुजेल, देवचुली वडा नं १५ का वडाध्यक्ष सुरेश रानाभाट , देवचुली नगरपालिकाका नगरप्रवक्ता तिल प्रसाद काफ्ले र देवचुली नगरपालिकाका संस्थापक नगरप्रमुख पूर्णकुमार श्रेष्ठ, क्याम्पस समितिका सदस्य उद्योग श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्याम्पसको १७ औँ वार्षिकोत्सवको अवसरमा जनज्योति क्याम्पसमा स्नातक तह उत्तीर्ण गरि नेपाल सरकारको अधिकृत स्तरको पदमा रहाल देवचुली नगरपालिकाको लेखा अधिकृत नारायण ढकाललाई प्रमाण पत्रले सम्मान गरिएको थियो । यसैगरि क्याम्पसमा बि.बि.एस उत्तीर्ण ज्ञान प्रसाद काफ्ले र बसन्त खनाल र क्याम्पसका प्रध्यापक होमनाथ न्यौपानेलाई सम्मान गरिएको थियो । कार्यक्रममा क्याम्पसमा संचालन भएका विभिन्न खेलकुदमा सहभागी भई उत्तीर्ण भएका विद्यार्थीलाई समेत पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा जनज्योति आदर्श बहुमुखी क्याम्पसका प्रध्यापक शशिकुमार लम्सालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा क्याम्पस संचालक समितिका पदाधिकारी, विद्यार्थीहरु, शिक्षकहरुको उपस्थिति रहेको थियो ।