देवचुली,
नवलपुरको देवचुली नगरपालिकामा शिक्षा क्षेत्रको ३ वर्षे अद्यावधिक योजना प्रस्तुतिकरण गरिएको छ । शुक्रबार देवचुली नगरपालिकाको सभाहलमा देवचुली नगरपालिका शिक्षा शाखाले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा १० वर्षे शिक्षा क्षेत्र योजना २०८०–२०८९ लाई आधार मानी देवचुली नगरपालिकाका सबै सामुदायिक विद्यालयहरुको ३ वर्षे कार्यक्रम प्रस्तुतीकरण पश्चात तयार पारिएको २०८१–२०८३ को हेण्ड बुक विद्यालयका प्रधानाध्यापकहरुलाई वितरण गरिएको थियो ।
हेण्ड बुकमा आधारभूत शिक्षा, माध्यमिक शिक्षा, प्राविधिक तथा व्यवसायिक शिक्षा र सिप, विकास तथा तालिम, पाठ्यक्रम, पाठ्य सामाग्री, शिक्षा व्यवस्थापन र विकास, विद्यालय व्यवस्थापन, अनौपचारिक तथा वैकल्पिक शिक्षा, समावेशी शिक्षा, शैक्षिक गुणस्तर, शिक्षामा सूचना र प्रविधिको प्रयोग, आपतकालिन शिक्षा र प्रारम्भिक बाल विकास र शिक्षा गरि १२ योजना रहेका छन् ।
देवचुली नगरपालिकाका शिक्षा शाखा अधिकृत नन्दलाल ढकालले शिक्षाको अद्यावधिक (कार्यनीतिक) योजना २०८१–२०८३ को प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले नगर शिक्षा नीति निर्माण पश्चात् शिक्षा शाखाले सम्पन्न गरेका विभिन्न कार्यक्रमको बारे जानकारी गराउनुभएको थियो । साथै उहाँले नगरपालिकाको शैक्षिक गुणस्तर विकासमा केन्द्रित रहि १२ वटा क्षेत्रहरुमा रहि कार्यनवयन योजना तयार पारिएको बताउनुभयो ।
देवचुली नगरपालिका शिक्षा शाखाले ५ करोड ८९ लाख ५० हजार बजेटमुखी भन्दा कृयाकलापमुखी कार्यक्रमलाई प्राथमिकता दिइएको छ । कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेले नगरका सबै सामुदायिक विद्यालयहरु शैक्षिक गुणस्तर वृद्धिका लागि समयानुकुल परिर्वतन र परीमार्जित हुँदै समयको माग अनुरुपको शिक्षा दिन सक्षम छन् भन्ने प्रमाणीत गर्न यो पुस्तिकाले आगामी तीन वर्षसम्म निरत्नर सहयोग र मार्गदर्शन गर्नेमा आँफू विश्वसत रहेको बताउनुभयो ।
कार्यक्रममा देवचुली नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, विभिन्न वडाका वडाध्यक्ष, शिक्षा शाखाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नव नेपाल आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव प्रसाद भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण नन्दलाल ढकालले गर्नुभएको थियो ।