कालीगण्डकी करिडोरअन्तर्गत पाल्पाको रानीमहल–राम्दी १७ किलोमिटर सडकखण्ड १५ वर्षदेखि अलपत्र छ । यस खण्डमा ठाउँ–ठाउँमा खसेको पहिरोसमेत नपन्छाउँदा सवारीसाधन सञ्चालन हुन सकेको छैन । कालीगण्डकी करिडोर आयोजना कार्यालयले यस खण्डलाई चासो नदिएकाले सडकमा सवारी सञ्चालन हुन नसकेको स्थानीयको आरोप छ ।
करिडोरअन्तर्गत सिद्धार्थ राजमार्गको राम्दीदेखि पर्यटकीयस्थल रानीमहल जाने सडकअन्तर्गतको यम्घाको मन्द्रान, मझेटा र रानीमहल नजिकै खसेका ठूला पहिरो हटाइएको छैन, जसका कारण सवारीसाधन सञ्चालन सहज हुन नसकेको स्थानीय शेरबहादुर बोटेले बताए । यहाँका विभिन्न स्थानमा खसेको पहिरो लामो समयदेखि नपन्छाइएको उनको गुनासो छ । पहिरो नहटाउँदा यस भेगका बासिन्दालाई १७ किलोमिटर पार गर्न ४० किमि टाढा घुमेर जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘ट्र्याक खुल्यो भनियो । तर वर्षायाममा सडकमा खसेका पहिरो पन्छाउने हो भने १४ किमिमै सिद्धार्थ राजमार्गको राम्दी पुग्न सकिन्थ्यो,’ बगनासकाली–७ खानीगाउँ दैलातुङका बोटेले भने, ‘यस विषयमा जनप्रतिनिधि, करिडोर आयोजना कार्यालयका कर्मचारीले सुनेको नसुन्यै गर्छन् ।’
यस खण्डमा ट्र्याक खोल्ने काममै ढिला भएको स्थानीयको गुनासो छ । खानीगाउँको रानीमहल नजिक बराङदी खोल्सा दायाँ–बायाँका साथै यम्घाको मन्द्रानको दुई स्थानको भीरलगायतमा ट्र्याक खोल्नै समस्या भयो । वर्षौंसम्म निर्माण व्यवसायीले काम नगर्दा ट्र्याक नै खुल्न सकेन । जेनतेन गत वर्ष ट्र्याक खुले पनि पहिरो खसेर सडक सञ्चालनमा छैन । यम्घामा पर्ने मझेटामा पनि ठूलो पहिरो खसेर सडक अवरुद्ध छ ।
जनप्रतिनिधिले समयमै चासो नदिएकाले अहिलेसम्म ट्र्याकसमेत राम्रोसँग खुल्न नसकेको बगनासकाली गाउँपालिका–७ खानीगाउँ दैलातुङका केशवराज खरालले जनाए । ‘१२–१४ किमिमा पुगिने राम्दी ४० किमि घुमेर जानुपर्छ,’ उनले भने । रानीमहल नजिकै बराङ्दी खोलाको वल्लोपल्लो भागमा १३ वर्षदेखि पहिरो पन्छाइएको छैन । सुरुमा ट्र्याक खुल्यो त्यसपछि पुनः डोजर लगाइएको छैन । पहिरो खसेर, जंगल बनेको छ । जसले गर्दा कालीगण्डकी नदी किनार भएर सवारीसाधन चल्नुपरेको छ । पुलसम्मको पहुँचमार्गबाट कालीगण्डकी नदीमा पुग्नुपर्ने उनले बताए ।
बराङ्दी खोलाको वल्लोपल्लो भागमा ट्र्याकसमेत राम्रोसँग खुलेको छैन । यही स्थानमा पुल निर्माणको कामसमेत अघि बढेको छैन । झन्डै एक किलोमिटर क्षेत्र जंगल बनेर बसेको छ । पहिरो फालिएको छैन । वर्षौंअघि खसेको पहिरो नपन्छाउँदा यात्रुले सास्ती खेप्नुपरेको स्याङ्जा सटुकाका अर्जुन पाण्डेयको भनाइ छ । ‘पक्की पुल बनेको छ । तर वर्षको तीन महिना सवारी चलाउन सकिने अवस्था हुन्न,’ उनले भने ।
कालीगण्डकी करिडोर हुँदै सिद्धार्थ राजमार्गको राम्दी जानसमेत मन्द्रान र मझेटाको पहिरो नपन्छाएर समस्या भएको स्थानीयको गुनासो छ । कालीगण्डकी करिडोरको अन्य भागमा कालोपत्रको समेत काम सकिन लाग्दा यस खण्डमा सडक स्तरोन्नतिको काम अघि बढेको छैन । खन्न सुरु गरेको १४ वर्षपछि गत वर्ष मन्द्रानमा ट्र्याक खुलेको हो । गत वर्ष वर्षायाममा खसेको पहिरो नपन्छाउँदा यात्रुले लामो दूरीको सडक प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय श्रीधर न्यौपानेले बताए ।
गाउँपालिकाको बजेटबाट पहिरो पन्छाउन ठूलो खर्च लाग्ने भएकाले आयोजनाअन्तर्गतको सडकमा लगानी गर्दैनन् । तत्काल पहिरो पन्छाउन कालीगण्डकी करिडोर आयोजनालाई सरोकारवाला निकाय कसैले पनि दबाब नदिएकाले समस्या भएको स्थानीय प्रेम बस्यालले जनाए ।
ट्र्याकको कामले अझै पूर्णता नपाएकाले पैदल नै अनुगमन गएको करिडोर आयोजना कार्यालयका सूचना अधिकारी अरुण खत्रीको भनाइ छ । मन्द्रानको भीरमा पहाडै खसेर ट्र्याक पुरेको र बनाउने बजेट नभएकाले समस्या भएको उनले बताए । आयोजना कार्यालयका अनुसार अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा १ अर्ब ४८ करोड बजेट सुनिश्चित गरेको छ । यही आर्थिक वर्षमै ठेक्का लाग्ने आयोजना कार्यालयका सूचना अधिकारी खत्रीले जनाए ।
‘सबै सरोकारवालालाई राम्दी–रानीमहलको स्थलगत अनुगमन पनि भइसकेको छ,’ उनले भने, ‘यही आर्थिक वर्षमै टेन्डर प्रक्रिया अघि बढ्छ ।’ केही दिनमै ठेक्का खुल्ने निश्चित भएको आयोजना कार्यालय बर्तुङका प्रमुख शंकर पौडेलको भनाइ छ । सिद्धार्थ राजमार्गको राम्दीदेखि झन्डै ३ सय मिटर क्षेत्र छाडेर अन्यत्र भागको ठेक्का लाग्ने उनले बताए । ‘केही समय ढिलाइ भए पनि यस वर्ष नै काम सुरु हुन्छ,’ उनले भने, ‘राम्दी पुल नजिकको भागमा पुल राख्ने वा अन्य के काम गर्ने भन्ने अझै निश्चित भएको छैन ।’
साभार ः ईकान्तिपुरबाट