देवचुली
गण्डकी प्रदेश भित्र रहेका पर्यटकीय गन्तव्य पहिचान एवं प्रवर्द्धनको लागी एक दिने अन्तरक्रिया कार्यक्रम देवचुलीमा रहेको पिप्रहर होमस्टेमा आइतबार सम्पन्न भएको छ।
गण्डकी प्रदेश अन्तर्गतको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ( नाट्टा ) को आयोजनामा उद्योग , पर्यटन , वन तथा वातावरण मन्त्रालयको प्रवर्द्धनमा कार्यक्रमको आयोजना गरिएको थियो। देवचुली नगरपालिकामा पर्यटन व्यवसायको राम्रो सम्भावना भएकाले यस कार्यक्रमको आयोजना गरिएको गण्डकी प्रदेश नाट्टाका अध्यक्ष हरिराम अधिकारीले बताएका छन्।
सोही अवसरमा देवचुली नगरपालिकाका प्रमुख हरि प्रसाद न्यौपानेले देवचुली नगर भित्र देवचुलीको सिर देखि तिर सम्म नै प्राकृतिक , धार्मिक ,सांस्कृतिक विविधता भएकाले पर्यटनको राम्रो सम्भावना भएको बताएका थिए।
न्यौपानेले देवचुली नगरपालिकाले यस क्षेत्रको पर्यटन व्यवसायलाई उकास्न र देश तथा विदेशमा यहाँको प्रचारप्रसार गर्न विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको समेत बताएका थिए।
देवचुलीको पिप्रहर होमस्टेमा आइतबार सम्पन्न कार्यक्रममा उद्योग , पर्यटन , वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव कुमान सिङ गुरुङ , नाट्टाका निवर्तमान अध्यक्ष एवं पोखरा पर्यटन परिषदका महासचिव संजयकान्त सिग्देल , देवचुली १७ का वडा अध्यक्ष गणेश चालिसे , नाट्टाका प्रथम उपाध्यक्ष किशोर दाहाल , होटल , होमस्टे तथा पर्यटन व्यवसाय समितिका पदाधिकारीहरू , पिप्रहर होमस्टे ग्रामका अध्यक्ष तथा पदाधिकारीहरू सँगै अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो। यस अघि पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्न माघे सक्रान्तिको अवसरमा प्रथम पिप्रहर मेला भव्य रुपमा सम्पन्न गरिएको थियो।