देवचुली
नवलपुरको देवचुली नगरपालिकाका वडाहरूबाटै नेपाली नागरिकताको अनलाइन सिफारिस गर्न सकिने भएको छ। आइतबार देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले केन्द्रीकृत नागरिकताको सूचना व्यवस्थापन प्रणाली सञ्चालन सम्बन्धी कार्यक्रमको शुभारम्भ गर्दै नगरपालिकाका वडाहरुबाट नागरिकताको अनलाइन सिफारिस गर्न सकिने सेवाको शुभारम्भ गर्नुभएको हो।
नगरप्रमुख न्यौपानेले देवचुली नगरपालिका वडा नम्बर ९ का निशान थापाको नागरिकताको अनलाइन सिफारिस जिल्ला प्रशासन कार्यालयको वेबसाइटमा अपलोड गरी सेवाको शुभारम्भ गर्नुभएको हो। नागरिकताका लागि वडाध्यक्ष बलिराम सापकोटाले सिफारिस गर्नुभएको थियो। यो सेवा शुभारम्भ भएसँगै अब देवचुली नगरपालिकाका नगरवासीहरूले नागरिकता प्राप्तिका लागि वडाबाटै अनलाइन सिफारिस गरी नागरिकता प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जान सक्नेछन् ।
आइतबार देवचुली नगरपालिकाको सभाहालमा भएको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली सञ्चालन शुभारम्भ कार्यक्रमको अध्यक्षता देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानेले यो सेवा शुभारम्भ भएसँगै नागरिकको जन्मदर्ता , विवाहदर्ता र विभिन्न सरकारी कागजातहरूमा नाम, ठेगानार अन्य विवरण फरक पर्ने जस्ता समस्याहरू आगामी दिनमा हट्दै जाने विश्वास व्यक्त गर्नुभयो।
साथै उहाँले यो सेवाले नागरिकहरूलाई नागरिकता प्राप्तिको लागि सहज र सरल हुने धारणा राख्नुभयो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले नागरिकताको अनलाइन सिफारिस सुरु भएपछि झुठा विवरण पेश गर्ने र दोहोरो नागरिकता लिने जस्ता समस्या अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले यो प्रणाली नेपालमा पहिलो पटक नवलपुर जिल्लाको गैडाकोटबाट सुरु गरिएको र अहिलेको अवस्थामा यो प्रणाली परीक्षणकालमै रहेकाले यसबाट हुनसक्ने त्रुटी सच्याउँदै थप व्यवस्थित र दिगो बनाई जनतालाई सहज रुपमा सेवा दिनु नै मुख्य उद्देश्य रहेको बताउनुभयो।
अनलाइन सेवा शुभारम्भ कार्यक्रममा देवचुली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको सहजीकरण वडा नम्बर १४ का वडा सचिव दिनेश न्यौपानेले गर्नुभएको थियो। कार्यक्रममा देवचुली नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको उपस्थिति रहेको थियो।