कावासोती
नेपाल कम्युनिस्ट पार्टी एमाले नवलपुरको ९ औं जिल्ला अधिवेशन चैत्र २६ र २७ गते जिल्ला सदरमुकाम कावासोतीमा हुने भएको छ। शुक्रबार नेकपा एमाले नवलपुरले पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताएको छ।
एमालेका पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्ने एमाले जिल्ला अध्यक्ष एवं ९ औं जिल्ला सम्मेलन मूल आयोजक समितिका संयोजक मुक्तिराम पाण्डेले जानकारी दिनुभयो ।
एमालेको जिल्ला सम्मेलनमा ९२ वटा वडा, ८ पालिका स्तरीय जातीय मुक्ति समाज, २१ जनवर्गीय संगठन, जिल्ला सल्लाहकार, लेखा कमिटी, जेष्ठ नागरिक मञ्च र सिजी मजदुर संगठनबाट प्रतिनिधित्व गरी ६११ जना प्रतिनिधि साथै जिल्ला कमिटी र मनोनित १ सय ४० जना गरी ७ सय ५१ जना प्रतिनिधि सहभागी हुनेछन्। प्रतिनिधि छनोट गर्दा १०५ युवा र ३३५ महिलाको सहभागिता सुनिश्चित गरिएको संयोजक पाण्डेले बताउनुभयो।
नेकपा एमाले नवलपुरले जिल्ला सम्मेलन सम्पन्न गर्दा निर्माणाधीन बुटवल नारायणगढ सडक खण्डको दुरावस्थाका कारण राजमार्गमा स्वागत गेट नराख्ने बताएको छ। यद्यपि नारायणी पुल नजिक नवलपुर प्रवेशद्वारमा भने एउटा गेट राखिनेछ। साथै विभिन्न स्थानमा डिजिटल बोर्ड र स्वागत ब्यानर रहनेछ ।
जिल्ला सम्मेलन सम्पन्न गर्नका लागि करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान नेकपा एमालेले गरेको छ। जसका लागि प्रतिनिधि शुल्कबाट ११ लाख २६ हजार ५ सय र प्रति पार्टी सदस्यबाट ४ लाख ७१ हजार ६ सय ५० गरी १५ लाख ९५ हजार १ सय ५० सहित अन्य शुभेच्छुकहरूबाट प्राप्त हुने सहयोग रकम गरी १८ लाख आम्दानी हुने अनुमान गरेको छ।
नेकपा एमालेको नवौँ जिल्ला अधिवेशनले १ सय ५ सदस्यीय जिल्ला कमिटी गठन गर्नेछ। एमालेको नेतृत्वका लागि वर्तमान अध्यक्ष मुक्तिराम पाण्डेसँगै अर्का पुराना नेता होमनाथ जैसी र जीवन श्रेष्ठको नाम चर्चामा छ। वर्तमान अध्यक्ष पाण्डेले पत्रकार सम्मेलनमा नै आँफू दोहोरिन चाहेको मनसाय व्यक्त गर्नुभयो । उहाँले आँफूले पूरा कार्यकाल काम गर्न नपाएकाले पनि दोहोरिन चाहेको बताउनभयो। अर्का नेता होमनाथ जैसीले आँफू कक्षा ६ मा पढ्दादेखि नै प्रगतिशील राजनीति गरी निरन्तर क्रियाशील रहेकाले यसपटक जिल्ला नेतृत्वका लागि अध्यक्ष पदमा आफ्नो दाबी रहेको हेर्नेपार्टीलाई बताउनुभयो।
पार्टीको हरेक तर र तप्कामा रहेर काम गरिसकेकाले पनि जिल्लाको नेतृत्वका लागि आँफू निर्वाचन मै जान परे पनि तयार रहेको बताउनुभयो। एमाले स्रोतका अनुसार अर्का नेता जीवन श्रेष्ठले अध्यक्षका लागि मुख नखोले पनि पार्टी पंक्तिमा उनको नाम चर्चामा रहेको छ।