देवचुली
सामुदायिक प्राकृतिक चिकित्सालय देवचुली १६ रजहरले प्राकृतिक चिकित्सा सम्बन्धी गीत विमोचन गरेको छ। चिकित्सालयले आफ्नो १२ औं वार्षिक साधारण सभाको अवसरमा उक्त गीत विमोचन गरेको हो।
राष्ट्रिय गायक द्वय पशुपति शर्मा र रमेशराज भट्टराईको आवाजमा रहेको गीत चिकित्सालयका अध्यक्ष सन्त बहादुर क्षेत्रीको अध्यक्षतामा विमोचन गरिएको हो। देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको साधारण सभा शनिबार चिकित्सालय परिसरमा सम्पन्न भएको छ।
चिकित्सालयका उपाध्यक्ष पेउ नारायण न्यौपानेको स्वागत मन्तव्य रहेको सभामा कोषाध्यक्ष नेत्र बहादुर पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कोषाध्यक्ष पाण्डेले प्रतिवेदन प्रस्तुत गर्दै चिकित्सालयको स्थापना कालदेखि हाल सम्मको आर्थिक , भौतिक प्रगतिको बारेमा बताउँदै सम्पूर्ण आयव्यय प्रस्तुत गरेका थिए।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघ कास्कीका महासचिव जानुका पराजुली , चिकित्सालयमा उपचाररत अमेरिकन नागरिक भक्ति , देवचुली माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपराज कोइराला , नेकपा माओवादी देवचुलीका अध्यक्ष सत्यनारायण भुसाल , चिकित्सालयका पूर्व अध्यक्ष हेमराज कोइराला , पूर्व मन्त्री शसि श्रेष्ठ तथा नगर प्रमुख हरि प्रसाद न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्दै चिकित्सालयको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए।
कार्यक्रममा विशिष्ट अतिथि समेत रहेकी श्रेष्ठले प्राकृतिक चिकित्सा र परम्परागत चिकित्सा प्रति आफूलाई धेरै विश्वास लाग्ने भएकाले सम्पूर्णलाई प्राकृतिक चिकित्सालयको समग्र विकासको लागी नातावाद र कृपावाद भन्दा टाढा रहेर एकजुट हुन आग्रह गरेको थिइन्।
यस्तै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नगर प्रमुख हरि प्रसाद न्यौपानेले यस प्राकृतिक चिकित्सालयलाई यहाँ सम्म ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण समिति तथा व्यक्तिहरूलाई धन्यवाद व्यक्त गर्दै आफूले पनि यसको विकासको लागी गरेका प्रतिवद्धताहरू कुनै पनि अवस्थामा पुरा गर्ने जिकिर गरेका थिए। सोही अवसरमा प्राकृतिक चिकित्सालयका फिजियोथेरापिस्ट सागर खनाल तथा सरसफाइ फाँटका सरस्वती ठुमलाई सम्मान गरिएको थियो।
लोक दोहोरी गायक रमेशराज भट्टराईको साङ्गीतिक प्रस्तुति रहेको सभामा प्राकृतिक चिकित्सालयका सचिव प्रदिपराज घिमिरेको सहजीकरण रहेको थियो। कार्यक्रममा प्राकृतिक चिकित्सालयका निर्देशक डाक्टर बिनोद पौडेलले प्राकृतिक पद्धतिबाट गरिने उपचार दिर्घ हुने भएकाले सम्पूर्णलाई एक पटक सेवा गर्ने अवसर प्रदान गर्न आग्रह गरेका थिए।