भरतपुर, १२ चैत ।
नारायणी नदी किनारमा जारी प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सवमा लोक तथा दोहोरी गायक श्याम रानामगरले उधुम मच्चाएका छन् । पछिल्लो समय ‘रेलै सलल’ गीतबाट थप लोकप्रिय बनेका गायक मगरले गीत गाउँदा दर्शकले पनि सँगै गाएर नाचेका थिए ।
उपस्थित दर्शकको सङ्ख्या देख्दा श्याम रानाको ‘क्रेज’ कति रहेछ भन्ने प्रष्टै देखिन्थ्यो । यतिसम्मकि रेलै सलल गीत दुई पटकसम्म दोहोर्याएका उनले दर्शकको रोजाइका कारण प्रत्यक्ष दोहोरी पनि यही भाकामा गाउनुपर्यो । आयोजकका अनुसार आइतबार एकै दिन दश हजार बढी दर्शकले अवलोकन गरेका थिए । महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराका अनुसार श्याम रानाको प्रस्तुतिसँगै फागु पर्व पनि परेको हुँदा दर्शकको उपस्थिति बाक्लो देखिएको हो ।
यसका साथै ‘हाइ मेरी मायालु’ (कौडा), ‘झोरा’लगायतका गीत गाएका थिए । फागु खेलेर रंगिन बनेका दर्शकहरूले श्याम रानाको गीतमा सँगसँगै नाचेर साथ दिएका थिए ।
श्याम रानामगर भन्दा अघि भोजपुरी गायक सुनिल पण्डितले ‘बाँझो खेतमा’को भोजपुरी भाषाबाट गायन सुरू गरेका पण्डितले ‘मिनरल वाटर’लगायत आधा दर्जनजति गीत सुनाएर बिखा भए । साँझ पर्दै गर्दा मञ्चमा गायिका साहिमा श्रेष्ठ उक्लिइन् । उनले पनि सन्ध्याकालीन दर्शकलाई भरपुर मनोरञ्जन दिलाइन् ।
दिनभर विभिन्न जातीय साँस्कृतिक कार्यक्रमले मनोरञ्जन प्रदान गरेको थियो। थारू र गुरूङ जातिको साँस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो । यही क्रममा सोमबार दोहारी गायिका ज्योति मगर र जादुगर बलराम सरकारको प्रस्तुति रहने महोत्सवको साँस्कृतिक कार्यक्रम संयोजक ईश्वर रानामगरले जानकारी दिए ।
महोत्सव अवधिभर हरेक दिन आदिवासी जनजातिका साँस्कृतिक प्रस्तुति रहँदै आएको छ । अन्तिम दिनसम्म यो क्रम जारी रहने साँस्कृतिक संयोजक मगरले जानकारी दिए । यसका साथै आदिवासी जनजाति समुदायमा प्रचलित मौलिक खानाका परिकारसमेत पस्किँदै आएको छ ।
प्रवेशद्वारबाट भित्र छिर्नासाथ देखिने आदिवासी जनजाति परिसरमा मगर र गुरूङ समुदायले साँस्कृतिक घरसँगै परम्परागत खानाका परिकार राखेर बिक्री वितरण गरिरहेको छ ।