काठमाडौँ
सामान्यतया क्षयरोग फोक्सोमा लाग्ने गर्दछ । तर क्षयरोगका २८ प्रतिशत बिरामी फोक्सो बाहेकका अङ्गमा सङ्क्रमित पाइएका छन् ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार ७२ प्रतिशत क्षयरोगीको फोक्सोमा सङ्क्रमण पाइएको छ । फोक्सोपछि बढी मात्रामा ग्रन्थीहरूमा क्षयरोग देखा परेको केन्द्रीकी सूचना अधिकारी तथा नर्सिङ अधिकृत थुमा पुनले बताइन् ।
‘फोक्सो बाहेक ग्रन्थीहरूमा बढी यो रोग देखिन्छ,’ उनले भनिन्, ‘कानको पछाडि, बोन, स्पेन, दिमागको झिल्ली, आन्द्रा लगायत अङ्गमा पनि क्षयरोग हुन्छ ।’
केन्द्रका निर्देशक डा. प्रज्ज्वल श्रेष्ठका अनुसार फोक्सो बाहेक किड्नी, दिमाग, आँखा, महिलाको प्रजनन् अङ्गमा समेत क्षयरोग हुन्छ । उनले भने, ‘नेपालमा बाँझोपन हुने प्रमुख कारणमध्ये क्षयरोगलाई पनि मानिन्छ ।’
विश्व स्वास्थ्य संगठनका अनुसार आर्थिक वर्ष २०७९-२०८० मा नेपालमा ७० हजार नयाँ क्षयरोगी थपिने प्रक्षेपण थियो । सो मध्ये १८ हजार जनाको मृत्यु हुने अनुमानसमेत गरिएको थियो । तर केन्द्रले ३७ हजार ४४७ क्षयरोगका नयाँ बिरामी फेला पारेको केन्द्रका निर्देशक डा. श्रेष्ठले बताए । ‘प्रति एक लाखमा २२९ जना नयाँ क्षयरोगी थपिने गरेको देखिन्छ,’ उनले भने, ‘अबको दुईदेखि तीन वर्षमा प्रति एक लाखमा १८१ जना नयाँ क्षयरोगीको संख्या झार्ने छौँ ।’
फोक्सो बाहेकको क्षयरोग सर्दैन
फोक्सो बाहेक शरीरको अरु अङ्गमा लागेको क्षयरोग नसर्ने केन्द्रका निर्देशक डा. श्रेष्ठले बताए । फोक्सोको क्षयरोग श्वासप्रश्वास प्रणालीबाट सजिलै अरुमा सर्ने उनले बताए ।
सरकारले फोक्सोमा लाग्ने क्षयरोगको निदान र उपचार निःशुल्क गरेको छ । फोक्सो बाहेक शरीरको अरु अङ्गमा लाग्ने क्षयरोगको निदान र उपचार भने महँगो छ । फोक्सो बाहेक अरु अङ्गमा भएको क्षयरोग अरुमा नसर्ने भएकाले यसको उपचार निःशुल्क हुन नसकेको आवद्ध अधिकारीले बताएका छन् । फोक्सोमा लाग्ने क्षयरोग खकारबाट सजिलै पत्ता लाग्ने तर शरीरका अरु अङ्गमा लाग्ने क्षयरोग एक्सरे, रगत जाँच लगायत विभिन्न जाँच गर्नु पर्ने भएकाले खर्चिलो हुने चिकित्सक बताउँछन् ।
कति छन् क्षयरोगका बिरामी ?
पछिल्लो पटक केन्द्रमा ३७ हजार ४४७ क्षयरोगका नयाँ बिरामी दर्ता भएका छन् । यसमध्ये ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष छन् । आर्थिक वर्ष २०७९÷०८० मा भौगोलिक रूपमा, तराई क्षेत्रमा ६० प्रतिशत क्षयरोगका बिरामी दर्ता भएको केन्द्रले जनाएको छ ।
प्रादेशिक स्तरमा ६८ प्रतिशत क्षयरोगका बिरामी मधेस, बागमती र लुम्बिनी प्रदेश गरी ३ प्रदेशमा दर्ता भएका छन् । सो अवधिमा क्षयरोग रोकथाम उपचार कार्यक्रम लागु भएका ४२ जिल्लामा क्षयरोग बिरामीको घरपरिवारको सम्पर्कमा रहेका पाँच वर्ष मुनिका ३ हजार ६५८ बालबालिकाले क्षयरोग रोकथाम उपचार प्राप्त गरेका थिए ।
को छन् क्षयरोगको जोखिममा ?
नेपालमा क्षयरोगको उच्च जोखिममा दीर्घरोगी, अस्वस्थ्य खानपान गर्ने व्यक्ति पर्छन् । चिकित्सकका अनुसार क्षयरोगको उच्च जोखिम समूहमा कुपोषित व्यक्तिहरू, एचआईभी सङ्क्रमितहरू, मधुमेह भएका व्यक्तिहरू, धुम्रपान गर्ने र मदिरा सेवन गर्ने व्यक्तिहरू पर्दछन् ।
क्षयरोग नियन्त्रणमा सरकारी पहल
क्षयरोग नियन्त्रण गर्न विभिन्न पहल भएको सरकारी निकायको दाबी छ । हाल राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले स्थानीय तहहरूको नेतृत्वमा ‘क्षयरोग मुक्त नेपाल अभियान’ सुरुवात गरेको छ । चालु आर्थिक वर्षमा देशभरिबाट छानिएका १२५ स्थानीय तहमा यो अभियान कार्यान्वयन भएको जनाइएको छ ।
सो अभियानमा क्षयरोगको पहिचान, निदान र उपचार सेवाहरूको गुणस्तरमा सुधार गर्नुका साथै क्षयरोग अन्त्यको प्रयासमा समुदायको संलग्नता बढाउने कार्य भइरहेको केन्द्रले उल्लेख गरेको छ । सो अभियान ७५३ स्थानीय तहमा विस्तार गर्ने लक्ष्य केन्द्रले राखेको छ ।
२०५० सम्म क्षयरोग उन्मुलन गर्ने लक्ष्य
राष्ट्रिय र विश्वव्यापी प्रतिबद्धता अनुरूप नेपालले क्षयरोग विरुद्धको लडाइँलाई साकार पार्नका निम्ति सन् २०२१-०२२ देखि २०२५-०२६ सम्मको बृहत् राष्ट्रिय रणनीतिक योजना तयार गरेको छ । सो योजनाले सन् २०५० सम्ममा क्षयरोग मुक्त नेपाल बनाउने लक्ष्य राखेको छ ।
राष्ट्रिय क्षयरोग रणनीतिक योजनाको कार्यान्वयन गरी नेपालले नयाँ क्षयरोग बिरामी दर र मृत्युदर घटाउने, सन् २०३५ सम्ममा क्षयरोगको महामारीको अन्त्य गर्ने, सन् २०५० सम्ममा क्षयरोगको निवारण गर्ने र क्षयरोग निदान÷उपचारमा लाग्ने अधिक आर्थिक व्यय भारलाई शून्यमा झार्ने लक्ष्य राखेको छ ।