नवलपुर
नवलपुर जिल्लामा यस आर्थिक वर्षमा २ सय ८४ जना क्षयरोगी थप भएको स्वास्थ्य कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०८०-८१ को श्रावणदेखि माघसम्मको तथ्याङ्क अनुसार जिल्लामा २ सय ८४ जना क्षयरोगी थपिएका हुन्।
जसमध्ये १ सय ९७ जना पुरुष र ८७ जना महिला रहेको जनाइएको छ। जसमध्ये २.८ प्रतिशत बालबालिका रहेका छन् । २८४ जनामध्ये सबैभन्दा बढी कावासोती नगरपालिकामा ६४ जना, गैंडाकोट नगरपालिकामा ६२ जना, देवचुली नगरपालिकामा ५१ जना, मध्यविन्दु नगरपालिकामा ३९ जना र विनयी त्रिवेणी गाउँपालिकामा २९ जना रहेका छन् ।
यसैगरी हुप्सेकोट गाउँपालिकामा २८ जना, बुलिङटार गाउँपालिकामा ७ जना र सबैभन्दा कम बौदीकाली गाउँपालिकामा ४ जना क्षयरोगी रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा रहेको छ। आर्थिक वर्ष २०७९-८० मा यो सङ्ख्या ५ सय ४६ र आर्थिक वर्ष २०७८-७९ मा ५ सय २९ रहेको थियो। असारसम्ममा यो संख्या पोहोरकै हाराझारीमा पुग्ने अनुमान गरिएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरले विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा शुक्रबार कावासोतीमा एक कार्यक्रमको आयोजना गरी नेपालसँगै विश्वमा क्षयरोगको अवस्थाका बारेमा प्रस्तुतिकरण मार्फत जानकारी गराएको थियो। जिल्लामा देखिएका क्षयरोगीहरूमध्ये ९४.४ प्रतिशत रोगीको सफल उपचार गरिएको कार्यक्रमका विवरण प्रस्तुत गर्दा जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका ल्याब टेक्निसियन तथा निरीक्षक डिल्लीराम तिवारीले बताउनुभयो ।
उहाँका अनुसार कुल सफल उपचारमध्ये बुलिङटार र विनयी त्रिवेणी गाउँपालिकामा शतप्रतिशत उपचार गरिएको छ । यसैगरी देवचुली नगरपालिकामा ९७.७ प्रतिशत, कावासोती नगरपालिकामा ९६.५ प्रतिशत, हुप्सेकोट गाउँपालिकामा ९६.३ प्रतिशत, मध्यबिन्दु नगरपालिकामा ९५.५ प्रतिशत, गैंडाकोट नगरपालिकामा ८८. ६ प्रतिशत र बौदीकाली गाउँपालिकामा ८७.५ प्रतिशत क्षयरोगीको सफल उपचार गरिएको छ।
अघिल्लो आर्थिक वर्षमा नवलपुर जिल्लामा सफल उपचार ९२.५ प्रतिशत रहेको थियो। विश्व स्वास्थ्य संगठनले नेपाललाई क्षयरोग जोखिमको ३० देशभित्र राखेको छ। नेपालमा वर्षेनी ७० हजारभन्दा बढी क्षयरोगी थपिने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा रहेको छ। नेपाल सरकारले क्षयरोग निवारणको लागि आर्थिक वर्ष २०७७-७८ मा २ सय ३८ प्रतिलाख जनसङ्ख्यामा नयाँ क्षयरोग हुने दर भएकोमा आर्थिक वर्ष २०८२-८३ सम्ममा १ सय ८१ प्रतिलाख जनसङ्ख्यामा झार्ने लक्ष्य लिएको छ।
यसैगरी मृत्युदरलाई आर्थिक वर्ष २०७७-७८ को ५८ जना प्रतिलाख जनसङ्ख्याबाट आर्थिक वर्ष २०८२-८३ को अन्त्यसम्ममा २३ जना प्रतिलाख जनसङ्ख्यामा झार्ने लक्ष्य लिएको छ। यसैगरी आर्थिक वर्ष २०९१-९२ सम्ममा क्षयरोग महामारीको अन्त्य गर्ने र आर्थिक वर्ष २१०६-०७ सम्ममा क्षयरोग निवारण गर्ने लक्ष्य लिएको छ। विश्वका आठवटा देशमा मात्र क्षयरोगका दुई तिहाई बिरामी रहेका छन्। जसमध्ये छिमेकी राष्ट्र भारतमा मात्रै २८ प्रतिशत रहेका छन्। एक वर्षमा विश्वमा क्षयरोगबाट १६ लाख बिरामीको मृत्यु हुने गरेको छ।
नेपालमा सर्वप्रथम सन् १९३७ बाट क्षयरोगको उपचार थालनी गरिएको हो। १९३७ मा टोखा सेनेटरियममा उपचार गर्न सुरु गरि तत्पश्चात् सन् १९५१ मा सेन्ट्रल चेष्ट क्लिनिकमा उपचार गर्ने गरिथ्यो। यसैगरी सन् १९६५ मा टिभी कन्ट्रोल प्रोग्राम लागू गरिएको थियो सन् १९८९ पछि भने भक्तपुरको ठिमीस्थित नेशनल टिबि कन्ट्रोल सेन्टरबाट क्षयरोगको उपचार गरिँदै आएको छ।
शुक्रबार कावासोतीमा आयोजित क्षयरोग अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपुरका ल्याब टेक्निसियन तथा सूचना अधिकारी डिल्लीराम तिवारीले क्षयरोगबारे प्रस्तुतिकरण गर्नुभएको थियो भने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख मुक्तिनाथ भट्टराई, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा र जिल्ला समन्वय समिति नवलपुरका सदस्य सरस्वती पाठकले आफ्ना धारणा राख्नुभएको थियो।
कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकार, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुली, मध्यबिन्दु जिल्ला अस्पतालका स्वास्थ्यकर्मी एवं जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो। हरेक वर्ष मार्च २४ मा मनाउँदै आइएको विश्व क्षयरोग दिवसको यस वर्षको नारा "अर्ली डिटेक्सन, कम्प्लिट ट्रीटमेन्ट - यस वि क्यान एन्ड टिबी" रहेको छ।