देवचुली,
विश्व पानी दिवसको सन्दर्भ पारेर नवलपुरको देवचुलीमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीको मुहान क्षेत्र सरसफाई गरेको छ। संस्थाका अध्यक्ष खिमानन्द भुसालको नेतृत्वमा मुहान क्षेत्र पुगेको पदाधिकारी, कर्मचारी, सुरक्षा समिति एवं सशस्त्र प्रहरी बल दलदले, अस्थायी प्रहरी पोस्ट दलदलेका सुरक्षाकर्मीहरू र पत्रकारहरूको संयुक्त टोलीले मुहानमा सरसफाई गरेका हुन् ।
मुहान क्षेत्रमा भेटिएको प्लास्टिक र अन्य फोहरजन्य पदार्थहरू सङ्कलन गरी फरकफरक रुपमा फोहोर विसर्जन गरिएको थियो । मुहान क्षेत्र सरसफाई पूर्व गरिएको संक्षिप्त औपचारिक कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष खिमानन्द भुसालले गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष भुषालले खानेपानी जीवनको अभिन्न अङ्ग भएकाले यसको संरक्षण गर्नु हरेक मानवको दायित्व रहेको बताउनुभयो । उहाँले खानेपानी मानव जीवनको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएकाले खानेपानीको विषयमा हरेक व्यक्ति संवेदनशील हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष दुर्गादेवी बिष्टको स्वागत रहेको थियो भने संस्थाका सचिव इन्द्रमणि भुसालले औपचारिक कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।
सरसफाई कार्यक्रममा सुरक्षा योजना समितिका सचिव लोकनाथ अर्याल, सशस्त्र प्रहरी वेश क्याम्प दलदलेका प्रहरी निरीक्षक तेजबहादुर ठकुरी, अस्थायी प्रहरी पोस्ट दलदलेका प्रमुख नारायणप्रसाद बराल लगायतको उपस्थिति रहेको थियो ।
हरेक वर्ष मार्च २२ तारिखका दिन मनाइने विश्व पानी दिवसको यस वर्षको नारा "शान्तिका लागि पानी" रहेको छ।