भरतपुर,
चितवनका स्रस्टा राजन पौडेलको नयाँ पुस्तक "अनिदो मन" सार्वजनिक भएको छ ।सम्पूर्ण किताबको आयोजनामा गैंडाकोटस्थित द नारायणी रिसोर्टमा कार्यक्रम आयोजना गरी कृति सार्वजनिक गरिएको हो ।
गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, स्रस्टाका बुवा देवीप्रसाद पौडेल, प्राध्यापक रमेश प्रभात, सुरेन्द्र अस्तफललगायतले कृति विमोचन गरेका हुन् ।पुस्तकमा २३० वटा मुक्तक छन् । मूल्य ४ सय रुपैयाँ छ ।
कृतिका बारेमा प्राध्यापक रमेश प्रभात र सुरेन्द्र अस्तफलले समीक्षात्मक टिप्पणी राखेका थिए । त्यसैगरी उदय अधिकारी, बालकृष्ण थपलिया र गोविन्दराज विनोदीले मन्तव्य राखेका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा स्रस्टा पौडेलसँग पुष्प अधिकारी अञ्जलीले संवाद गरेका थिए । ५० को दशकको अन्त्य र ६० को सुरुवातमा चितवनको साहित्यिक गतिविधिमा सक्रिय रहेका पौडेलसँग अधिकारीले पुराना दिनका सन्दर्भमा रहेर कुराकानी गरेका थिए । सोही क्रममा पौडेलले कृतिमा रहेका मुक्तक वाचन गरेका थिए ।
स्रस्टा पौडेल भरतपुर-८ गौरीगञ्जका स्थायी बासिन्दा हुन् । उनी पछिल्लोसमय क्यानडामा बसोबास गर्दै आएका छन् । प्रेमवस्ती मावि भरतपुर-७ बाट २०४७ सालमा एसएलसी पास गरेका पौडेल विद्यालयकालबाटै कविता लेखनमा लागेका थिए । पौडेलले पक्लिहवा क्याम्पस रुपन्देहीबाट कृषिमा प्रवीणता प्रमाणपत्र तह अध्ययन गरेका हुन् । त्यसपछि रामपुर क्याम्पसबाट कृषिमा स्नातक तथा कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरबाटै स्नातकोत्तर गरेका हुन् ।
सिटिइभिटी अन्तर्गत दिपायल, धनकुटा र चितवनमा करिब १५ वर्ष जागिर गरेका पौडेल पछिल्लो ४ वर्षदेखि परिवारसहित क्यानडमा छन् ।नेपाल रहँदा चितवनसहित देशका विभिन्न ठाउँको साहित्यिक गतिविधिमा सक्रिय पौडेलले विशेषगरी मुक्तक, कविता र गजल लेख्ने गरेका थिए । पौडेलका यसअघि "गजलपथका यात्रीहरू" र "गजल बिम्ब" गरी २ वटा संयुक्त गजलसङ्ग्रह तथा आधारभूत मत्स्यपालन र सहलेखनका रूपमा कार्प, सिद्रा माछा, तरकारीको एकीकृत पालन प्रविधि गरी ४ वटा कृति प्रकाशित छन् । ५० को दशकमा पौडेलका सिर्जना रेडियो नेपाल तथा राष्ट्रिय र स्थानीय पत्रपत्रिकामा प्रशारण, प्रकाशन हुन्थे ।
पौडेलको पाँचौँ कृति अनिदो मन १२६ पृष्ठमा छ । बाक्लो गातामा प्रकाशन गरिएको पुस्तकको मूल्य ४ सय रुपैयाँ छ । सम्पूर्ण किताबले आयोजना गरेको कार्यक्रमलाई लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।