काठमाडौं
भोजपुर जिल्लाको भोजपुर नगरपालिका–१२ टक्सारको मालबाँसेमा ३ चैत २०८० मा आगलागीका कारण ६ घरगोठ नष्ट भए । प्रहरीका अनुसार जंगलको डढेलो बस्तीमा पस्दा यी घरगोठ जलेका हुन् ।
स्थानीयका भनाइमा आगलागीबाट विशाल कार्कीका दुई, नरबहादुर कार्कीका दुई र पदम कार्कीको एक घर जलेर नष्ट भयो । बसोबास नभएको अर्को एउटा घर पनि जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी, दलकुमार राईका भनाइमा, जङ्गलबाट सुरु भएको आगलागी हावाहुरीका कारण बस्तीसम्म आइपुगेको हो ।
शनिबार नै भोजपुरको हतुवागडी गाउँपालिका–७ मा आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईका अनुसार स्थानीय रमेश कार्कीकी ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस तथा केदार कार्कीका ५ वर्षीय छोरा प्रनिशको मृत्यु भएको हो ।
खेलिरहेका बालबालिका गोठबाट सल्किएको आगोको चपेटामा परेका थिए । लगत्तै इलाका प्रहरी कार्यालय घोरेटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।
यस्तै आइतबार दिउँसोदेखि तेह्रथुमको फेदाप गाउँपालिकाको सिम्लेमा पनि आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार, आगलागीमा ५ वटा बस्तीका १५ भन्दा धेरै घरमा क्षति भएको छ । वनमा लागेको आगो नजिकै रहेको बस्तीमा फैलिँदा ती घरहरु जलेको प्रहरीको भनाइ छ ।
शनिबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१६ सुकौरामा वनको डढेलो गाउँमा छिरेपछि एक घर र गोठ पूर्ण रुपमा नष्ट भएको थियो । घर नजिकैको पाखो डाँडामा लागेको डढेलो हावाका कारण गोठमा सल्केको र पछि घरमा सल्किँदा मदनकुमार तामाङ बलको घरगोठ जलेर नष्ट भएको छ ।
घरमा कोही नभएको र गोठमा वस्तुभाउ नभएका कारण मानवीय र पशुजन्य क्षति नभएपनि घर भने ध्वस्त भएको हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामाले बताइन् ।
भोजपुर, तेह्रथुम र हेटौंडामा मात्रै होइन्, अहिले देशैभर यस्ता घट्ना भइरहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशभर १ चैतदेखि आइतबार साँझसम्ममा आगलागी र डढेलोका १३९ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार, आगलागी र डढेलेमा परेर मृत्यु हुनेको संख्या ३ पुगेको छ भने १२ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार, धेरै जसो घट्ना वनबाट लागेको आगो बस्तीमा पुगेको छ ।
‘फायर लाइन’ एउटा उपाय
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभरीका प्रमुख जिल्ला अधिकारी मार्फत भैपरी आउन सक्ने विपद्को तयारीको लागि छलफल गरिरहेको जनाएको छ ।
‘वन र बस्तीमा हुने आगलागीको न्यूनीकरणको लागि हामी तीनै तहका सरकारहरुसँग पनि छलफल गरिरहेका छौं । सुरक्षाकर्मीहरुलाई तयारी अवस्थामा राख्न प्रमुख जिल्ला अधिकारीहरुलाई भनिरहेका छौं,’ प्राधिकरणकी प्रवक्ता गोमादेवी चेम्जोङले भनिन् ।
उनले प्राधिकरणले जनचेतनाको काम गरिरहेको भन्दै वन मन्त्रालयसँग समन्वय पनि गरिरहेको बताइन् । ‘हामीले सीडीओ कार्यालय मार्फत काम गर्ने हो । हामी जोखिम कम गर्न जनचेतना बढाउने काम गरिरहेका छौ । वन मन्त्रालयलाई वन जोगाउने मात्रै होइन, व्यवस्थापन पनि गर्नुपर्छ भनिरहेका छौं । अनि वन उपभोक्ता संघहरुलाई पनि आगलागी कम गर्ने उपाय अवलम्बन गर्न भनेका छौं,’ उनले भनिन् ।
उनले वनमा आगो लाग्ने क्रम गत वर्षको तुलनामा बढेको बताइन । उनको भनाइमा धेरै ठाउँमा खेतीपाती हुन छोड्दा घर नजिकै वन आउन थालेको बताइन् । ‘मानिसहरुले खेती नगर्दा, मान्छे कम हुँदा खेतबारीहरु पनि वन जस्तै हुन थालिसके, त्यसले गर्दा वनमा लागेको आगो बस्तीमा छिटो आउन थाल्यो,’ उनले भनिन् ।
उनले प्रदेश सरकार र स्थानीय सरकार मातहत पनि विपद् व्यवस्थापन समिति गठन भएको तर त्यसको क्षमता विस्तार गर्न बाँकी रहेको बताइन् ।
‘विभिन्न प्रकारका विपद्हरुसँग लड्न गठन भएका समितिहरुको क्षमता विकास गर्न पाए धेरै विपद्हरुमा काम लाग्थ्यो, प्राधिकरणले त्यसमा पनि काम गर्छ,’ चेम्जोङले भनिन् ।
देशभरीका २२ जिल्लामा डढेलो र आगलागीको कारण धेरै जनधनको क्षति भएको भन्दै तुलनात्मक रुपमा पूर्वी जिल्लाहरुमा यस्तो धेरै रहेको उनले बताइन् ।
‘पूर्वका जिल्लाहरुमा आगलागीका घटना धेरै देखिएका छन्, अध्ययन विना यसको कारण त भन्न त मिल्दैन तर जनचेतनाको अभाव र सुुख्खा वन धेरै भएको पनि हुन सक्छ,’ उनले भनिन् ।
चेमजोङका भनाइमा चुरोट खाएका ठुटाहरु वनमा फालेर हिँड्दा पनि आगलागी बढिरहेको बताइन् ।
प्राधिकरण उपसचिव सुन्दरप्रसाद शर्मा वनको आगो बस्तीमा आउन नदिन ‘फायर लाइन’ बनाउन पर्ने बताउँछन् ।
‘वनको आगोले बस्ती जोगाउन कम्तीमा ‘फायर लाइन’ बनाउन सकिन्छ । जंगल र बस्ती जोडिएका ठाउँमा सुख्खा, पात पतिङ्गर हटाउँदा पनि क्षति कम हुन्छ,’ उनले भने ।
घरको संरचना पनि जिम्मेवार
आगलागी नियन्त्रण विज्ञ किशोरकुमार भट्टराई वनमा र बस्तीमा सल्केको आगलागी नियन्त्रण गर्न नसक्नुको कारण घरको संरचना पनि जिम्मेवार रहेको बताउँछन् ।
‘पहाडमा बन्ने घरहरु सहरका जस्ता हुँदैनन्, घर निर्माणमा प्रयोग हुने धेरै सामग्रीहरु ज्वलनशील हुन्छन् । त्यसमाथि पनि एकघरदेखि अर्को घरसम्म केही खाली स्थान हुन्छ, जसले गर्दा आगोले पर्याप्त अक्सिजन सहितको हावा भेट्छ । त्यसैले लप्का बढ्दा लहरै रहेको बस्तीमा आगलागी हुने हो,’ भट्टराईले भने ।
खरको छानो, चोटा तथा बुइगलको दलिनमा प्रयोग हुने चिर्पटको कारण आगोले छिटो टिप्ने गरेको उनले बताए ।
‘सहरी घरहरु धेरै कंक्रिट तथा फलामजन्य हुँदा तत्कालै आगोले ठूलो रुप लिँदैन तर गाउँघरमा आगो ह्वात्तै बढ्छ । फेरि पहाडी घरहरु भिरालो तथा हावा लाग्ने ठाउँमा हुँदा वनको आगो र झिल्काले पनि सजिलै भेट्छ,’ उनी भन्छन् ।
भट्टराईले गाउँको घरको संरचना, बढ्दै गएको वन र आगलागीको जोखिमबारे पर्याप्त ज्ञान नहुँदा समस्या भएको बताए ।
‘हाम्रो विपद्को त तालिका जस्तै छ, वर्षा लागेपछि बाढी, पहिरो, हिउँदमा आगलागीको जोखिम सामान्य जस्तो भइसक्यो तर रुटिनमा भइरहेको विपदको सामान गर्न नसक्नुको कारण चेतनाकै अभाव हो,’ उनले भने ।
भट्टराईले गाउँघर वरिपरि पानीको कुवा बनाउनुपर्ने, घर बनाउँदा प्रत्यक्ष ज्वलनशील वस्तुहरुको कम प्रयोग गर्नुपर्ने, बस्ती वरिपरि ‘फायर लाइन’ बनाउनुपर्ने बताए ।
उनले भने, ‘हिउँदमा डढेलो र आगलागीको अर्को कारण खेतबारीमा मकै छर्ने बेला हुँदा काम नलाग्ने झिक्राहरु जलाउनु पनि एक हो । यहाँबाट आगोको झिल्काहरु हावाले वनमा पुर्याउँछ र त्यहि वनको आगो फेरि बस्तीमा आउँछ ।’
घट्नापछि बैठक बसेर हुन्न : पाठक
सामुदायिक वन उपभोक्ता महासंघकी पूर्व अध्यक्ष भारती पाठक सरकार नै डढेलो नियन्त्रणका लागि जिम्मेवार हुनुपर्ने बताउँछिन् । प्रत्येक वर्ष एकै समयमा हुने विपद्मा पनि सरकारले पूर्व तयारी र समुदाय स्तरमा जनशक्ति परिचालन गर्न नसकेको भन्दै उनले घटना भएपछि सुरक्षाकर्मी कुदाएर मात्रै नहुने बताइन् ।
‘वर्षभरि नै विपदबारे छलफल हुनपर्छ, हाम्रोमा घटना पछि बैठक बोलाएर सर्कुलेसन गर्ने बानी छ, त्यसले हुँदैन । विशेषगरी डढेलो नियन्त्रणमा समुदाय स्तरमा जनचेतना, तालिम दिने, सिजनमा जनशक्ति परिचालन गर्ने गर्नुपर्छ । यसका लागि समुदायकै मानिसहरुलाई दक्ष बनाउने हो तर त्यसमा सरकारले ध्यान दिएको छैन,’ उनले भनिन् ।
बागमती प्रदेश सभा सदस्य समेत रहेकी पाठकले वन संरक्षण मात्रै भएर व्यवस्थापन नहुँदा पनि डढेलोका घटना बढेको बताइन् । ‘वर्षौंदेखि वन संरक्षण गरिरहेका छौ, तर त्यहीँको उपभोक्ताले सदुपयोग गर्न पाउँदैनन् । वन प्रयोग गर्न नपाउँदा बाक्लो वनमा आगलागी पनि तीव्र हुन्छ,’ पाठकले भनिन् ।
उनले वन्यजन्तुबाट आजित भएका किसानले पनि आगो लगाइदिने खतरा रहेको बताउँदै भनिन् ‘वन बढ्दा बाँदर, बँदेल आतंकले किसानलाई हैरान बनाएको छ तर किसानले वन पनि उपभोग गर्न पाएको छैन भने आगो लगाइदिने भन्ने खतरा पनि बढेको छ । यसमा सरकारले उपभोक्ताले संरक्षण गरेको वन व्यवस्थापनको नीति बनाउनुपर्छ ।’
आगलागी नियन्त्रणका लागि सामुदायिक वन उपभोक्ता महासंघले आफ्नो वन समितिहरुलाई पर्चा बाँड्ने, जनचेतना फैलाउने, तालिम दिने लगायतको काम गरेपनि राज्यको तर्फबाट उचित पहल नभएको बताइन् ।
साभारःअनलाइनखबरबाट