काठमाडौँ
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत्र १५ गतेदेखि हुन गइरहेको परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
चैत १५ गतेबाट सुरु भई चैत २७ गतेसम्म परीक्षा सकिने बोर्डको परीक्षा तालिका छ । यो वर्ष देशभरबाट ५ लाख ३ हजार भन्दा बढी विद्यार्थीले एसईई दिन परीक्षा फाराम भरेका छन् । बोर्डले परीक्षाको लागि प्रश्नपत्र देशभरका ७४ जिल्लामा पठाइसकेको छ । काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा केही दिनमा पठाउने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए ।
७४ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा प्रश्नपत्र पठाइएको हो । काठमाडौँ उपत्यकाको हकमा २२÷२३ वटा प्रहरी कार्यालयमा पठाउनुपर्ने भएकाले केही समय लागेको पौडेलले बताए ।
‘प्रश्नपत्र काठमाडौँ बाहेकका जिल्ला पुर्याइसकियो । काठमाडौँका प्रहरी चौकी चौकी पुर्याउनुपर्छ । यहाँ १÷२ दिनमा जान्छ । यहाँ २२÷२३ ठाउँमा पठाउनुपर्छ । भित्र ट्रकमा पठाउन मिल्दैन । सानो गाडीमा पठाउनुपर्ने हुन्छ । त्यो बाहेक प्रश्नपत्रबाहेकको प्रदेश र जिल्लाले गर्ने काम पनि भइरहेको छ’ पौडेलले भने ।
जिल्ला प्रहरी कार्यालयमा पठाइएका प्रश्नपत्रहरू परीक्षा सुरु हुनुभन्दा केही समय अगाडि मात्रै सुरक्षासहित सम्बन्धित परीक्षा केन्द्रमा पठाइनेछन् । त्यस्तै उत्तरपुस्तिका समेत सातै प्रदेशबाट पठाउने काम भइसकेको छ । प्रश्नपत्र बोर्डले पठाउने गरेको छ भने उत्तरपुस्तिका प्रदेश सरकारले पठाउने गरेको छ । त्यस्तै परीक्षा सञ्चालन गर्न आवश्यक पर्ने खर्च समेत प्रदेश सरकारबाटै हुने परीक्षा नियन्त्रण पौडेलले बताए ।
उत्तरपुस्तिका पठाउने, परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन गर्न खर्च पठाउने काम पनि प्रदेश सरकारले गर्ने हो । यो वर्ष ५ लाख प्रश्नपत्र छापिएका छन् । परीक्षा फाराम भरेका सबै विद्यार्थीले परीक्षा दिन नआउने भन्दै बोर्डले ५ लाख मात्रै प्रश्नपत्र छापेको हो ।
प्रदेश सरकार अन्तर्गत रहेको सामाजिक सुरक्षा मन्त्रालयले परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने खर्चको व्यवस्थापन गर्दै आएको हो । केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षा व्यवस्था लगायतको कार्य प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिले गर्नेछ । केन्द्राध्यक्ष, निरीक्षकहरू नियुक्त गरेपछि उनीहरूले तालिम समेत प्रदान गर्ने गरिन्छ । त्यसका लागि परीक्षा हुनुभन्दा केही दिन अगाडि मात्रै तालिम दिने गरिन्छ ।
नेपाल बाहिर जापानमा एउटा परीक्षा केन्द्र तोकिएको छ । जहाँ २१ जना विद्यार्थीले एसईई दिनेछन् । जापानमा परीक्षा सञ्चालनका लागि बोर्डबाट दुई जना जाने भन्ने नीतिगत व्यवस्था थियो । तर, अहिलेसम्म नगएको उनको भनाइ छ बोर्डबाट कोही नगएपछि त्यही स्कुलको प्रिन्सिपललाई केन्द्राध्यक्ष तोकेर परीक्षा गर्न लागिएको पौडेलले बताए । परीक्षा सञ्चालन भइसकेपछि उत्तरपुस्तिकाहरू नेपाल पठाइने र नेपालबाटै परीक्षण हुने उनको भनाइ छ ।
- पास हुन ३५ प्रतिशत अनिवार्य
बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार एसईई गर्न लागेको हो । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले लेटर ग्रेड निर्देशिका अनुसार पहिलो पटक एसईई गर्न लागिएको बताए ।
न्यूनतम ‘बी’ ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत अनिवार्य ल्याउनुपर्ने अध्यक्ष शर्माले बताए । यस पटक नयाँ लेटर ग्रेडिङ निर्देशिका अनुसार न्यूनतम बी ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत र प्रयोगात्मकमा ४० प्रतिशत अनिवार्य गरिएको बताए ।
२ वटाको छुट्टा छुट्टै रूपमा ल्याउनुपर्ने व्यवस्था गरिएको हो । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था थियो । यो पटक भने दुवै छुट्टा छुट्टै अङ्क ल्याउनुपर्ने व्यवस्था गरिएको हो ।
कक्षा ११ र १२ को हकमा भने उक्त निर्देशिका कार्यान्वयन भएको २ वर्ष भयो । कक्षा १० को हकमा पहिलो पटक कार्यान्वयनमा आउन लागेको हो । राष्ट्रिय पाठ्यक्रम परिषद्ले नयाँ पाठ्यक्रम लागू भएपछि कक्षा १० मा नयाँ ग्रेडिङ निर्देशका लागू गर्ने निर्णय भएको थियो । सोही आधारमा यो वर्ष नयाँ पाठ्यक्रम अनुसार पठनपाठन भएको र परीक्षा पनि सोही अनुसार हुन लागेको बताए ।
- के छ लेटर ग्रेडिङ निर्देशिका २०७८ मा ?
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ७ पुस २०७८ मा निर्देशिका जारी गरेको थियो । विद्यार्थीको सिकाई क्षमतालाई यथारूपमा प्रमाणीकरण गर्ने, सिकाई उपलब्धिको मापनबाट प्राप्त अङ्कगत स्तरलाई आठवटा अक्षरगत स्तरमा सूचित गर्ने निर्देशिका उद्देश्य रहेको छ ।
शैक्षिक क्षतिलाई न्यूनीकरण गर्दै शैक्षिक गुणस्तर प्रवर्धन गर्ने, एकल विषय प्रमाणीकरणका माध्यमबाट विद्यार्थीको बहु बौद्धिकताका आधारमा सिकाई अवसर प्रदान गर्ने समेत निर्देशिकाको उद्देश्य रहेको छ ।
उक्त निर्देशिका विद्यालय शिक्षा (कक्षा १–१२) मा लागू भएको हो । कक्षा १० को एसईई, कक्षा ११ को वार्षिक परीक्षा र कक्षा १२ को बोर्ड परीक्षाका अतिरिक्त अन्य कक्षाहरूको हकमा समेत उक्त निर्देशिका अनुसार नै मूल्याङ्कन हुने गरेको हो । निर्देशिका अनुसार ३५ प्रतिशत भन्दा कम अङ्क ल्याएको खण्डमा उक्त विद्यार्थीले प्रमाणपत्र नपाउने बोर्डले जनाएको छ । त्यसका लागि विद्यार्थीले पुन परीक्षा दिनुपर्ने हुन्छ ।
त्यस्तै ३५ देखि ४० प्रतिशतभन्दा कम अङ्क ल्याउने विद्यार्थीलाई स्तरीकृत अंकमा १.६ दिइनेछ भने अक्षरमा डी ग्रेड दिइनेछ । जुन उपलब्धिको स्तरमा आधारभूत (बेसिक) मानिनेछ । ९० प्रतिशत र शो भन्दा माथि प्रतिशत आएको खण्डमा सर्वोत्तम (आउटस्ट्याण्डिङ) मानिने निर्देशिकामा उल्लेख छ ।
साभारःरातोपाटीबाट