देवचुली, फाल्गुन ३०
रजहर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था रजहरमा मतदान सुरु भएको छ। संस्थाको नयाँ कार्यसमिति चयनका लागि वरचुली माध्यमिक विद्यालयको खेलमैदानमा मतदान सुरु गरिएको हो। मतदान स्थलमा आठवटा निर्वाचन वुथ राखिएको छ भने करिब ३० जना कर्मचारी खटाइएको छ। खानेपानी संस्थाका उपभोक्ता जेष्ठ नागरिक भीमलाल पौडेलले बुथ नम्बर ५ बाट मतदान गरी निर्वाचन प्रारम्भ गरिएको हो। कुल २ हजार ८ सय ५४ मतदाता उपभोक्ता रहेको रजहर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा ४१ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । खानेपानी संस्थाको अध्यक्ष पदका लागि कृष्णप्रसाद तिवारी, बासुबाबु कोइराला, टेकबहादुर क्षेत्री र गंगाबहादुर थापा चुनावी मैदानमा छन् । अध्यक्षका प्रत्याशी गंगाबहादुर थापा संस्थाका निवर्तमान अध्यक्ष समेत हुन्।
यसैगरी उपाध्यक्ष पदका लागि लालप्रसाद अधिकारी, होमनाथ तिवारी र ऋषिराम बरालको प्रतिस्पर्धा छ। सचिव पदका लागि मनोज कुमार सुनार, घनश्याम गौतम र रामु पाण्डे एक आपसमा भिड्दैछन् । यसैगरी सहसचिव पदमा शान्ता सुनार, उमा शर्मा र पदमा पौडेल आमुन्ने सामुन्ने हुनेछन्। कोषाध्यक्ष पदका लागि पार्वती पौडेल आचार्य, नरिकुमारी श्रेष्ठ र हिरादेवी न्यौपानेको प्रतिस्पर्धा छ। संस्थाको लेखा संयोजक पदका लागि जगदीश न्यौपाने, भानुभक्त पौडेल र गणेशबहादुर रायमाझी चुनावी मैदानमा छन् ।
लेखा सदस्य पदका लागि मञ्जु थापा मगर, लक्ष्मी लामिछाने, शान्तकुमार वाग्ले र मिनु शाहीबीच निर्वाचन हुनेछ । यसैगरी वडा सदस्य क्लस्टरको लागि वडा नम्बर १ बाट बिमला अधिकारी, बाबुराम पौडेल र मुक्तिप्रसाद पौडेलको प्रतिस्पर्धा छ। वडा नं २ मा भने खोरबहादुर थनेत यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। वडा नम्बर ३ का लागि सीता गुरौ र कपिल लामिछाने, वडा नम्बर ४ का लागि गंगाकुमारी खोजवार र धनमाया खोजवार, वडा नं ५ का लागि हरिलाल गैरे र गंगाराम महतो, वडा नम्बर ६ का लागि भवानी प्रसाद पाठक, रामप्रसाद न्यौपाने र ओम प्रकाश गौतम, वडा नं ७ का लागि रामप्रसाद पाण्डे र धनबहादुर रायमाझी र वडा नम्बर ८ का लागि भीम सिंह गुरुङ, लक्ष्मी सुनार, ढाकाराम शर्मा र सुनबहादुर कानुमगर चुनावी प्रतिस्पर्धामा छन्।
बिहान ८ बजेर ३५ मिनेटबाट सुरु भएको निर्वाचन अपरान्न ४ बजेसम्म चल्नेछ। निर्वाचन पश्चात् मुचुल्का उठाई सर्वदलीय बैठक बसेपछि देवचुली नगरपालिका वडा नम्बर १७ को वडा कार्यालयमा मतगणना प्रकृया अघि बढ्ने निर्वाचन समितिका संयोजक शिवहरी अधिकारीले बताउनुभयो । निर्वाचन सम्पन्न गर्नका लागि शिवहरी अधिकारीको संयोजकत्वमा बाबुराम पौडेल, गोविन्द पौडेल, संगीता बराल सापकोटा र सन्दीप पौडेल सहितको पाँच सदस्यीय निर्वाचन समिति बनाइएको छ भने संस्थाका व्यवस्थापक जीवन शर्मा पौडेल विधान अनुसार नै निर्वाचन समितिका सचिव रहेका छन्।