देवचुली
रजहर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था देवचुली १६-१७ को निर्वाचनमा उम्मेद्वारी दिएका उम्मेदवारहरू यति बेला प्रचार प्रसारमा व्यस्त छन्।
संस्थाको छैटौँ अधिवेशन अन्तर्गत आगामी फाल्गुन ३० गते बुधबार निर्वाचन हुँदै छ।
निर्वाचन समितिका संयोजक शिवहरि अधिकारीका अनुसार संस्थाको अध्यक्ष पदमा ४ जना, उपाध्यक्षमा ३ जना, सचिवमा ३ जना, कोषाध्यक्षमा ३ जना, सह–सचिवमा ३ जना, लेखा संयोजकमा ३ जना, लेखा समिति सदस्यमा ४ जना, वडा गत सदस्य अन्तर्गत वडा नं १ मा ३ जना, वडा नं ३ मा २ जना, वडा नं ४ मा २ जना, वडा नं ५ मा २, वडा नं ६ मा ३ जना , वडा नं ७ मा २ जना र वडा नं ८ मा ४ जनाको उम्मेद्वारी परेको छ ।
यता वडा २ मा भने १ जनाको मात्र उम्मेद्वारी परेको हुनाले सो वडाबाट खोर बहादुर थनेत सर्वसम्मत चयन भइसकेका छन् ।
निर्वाचन आचार संहिता अनुसार उम्मेदवारहरूले फाल्गुन २८ गते सोमबार मध्यरातको १२ बजे सम्म प्रचारप्रसार गर्न पाउनेछन् भने त्यस लगत्तै निर्वाचनको समय सम्म मौन अवधि रहनेछ।