गोरखा
२०७२ वैशाख १२ को भूकम्पमा ज्यान गुमाएकाको नामावली प्राप्त नहुँदा बारपाकमा निर्माणाधीन भूकम्प स्मृति पार्कको काम डेढ वर्षदेखि रोकिएको छ । स्मृति स्तम्भमा भूकम्पमा परी मृत्यु भएका १४ जिल्लाका व्यक्तिको नाम राख्ने गरी ठेक्का सम्झौता भएको थियो । दुई वर्षदेखि नामावलीका लागि ताकेता गर्दा पनि प्राप्त नहुँदा काम सम्पन्न गर्न नसकिएको ठेकेदार कम्पनी स्वच्छन्द होम निर्माण जेभीका होमबहादुर बानियाँले बताए ।
भूकम्पको केन्द्रबिन्दु बारपाकमा निर्माणाधीन स्मृति स्तम्भको ९५ प्रतिशत काम सम्पन्न भएको डेढ वर्ष बितिसकेको छ । ‘लगभग सबै काम सकिएको छ, ताम्रपत्रमा नाम लेखेर स्मृति स्तम्भका १४ वटा पिलरमा टाँस्ने काम मात्र बाँकी हो,’ बानियाँले भने, ‘नाम प्राप्त भएको एक महिनामा निर्माणको सबै काम सकिन्छ ।’ काम रोकिँदा समस्या भएको उल्लेख गर्दै बानियाँले भने, ‘एक वर्षसम्म त हेरालु राखेका थियौं, काम नै नभएपछि अहिले हेरालु नहुँदा पार्कको सुरक्षा हुन पाएको छैन ।’ निर्माण सम्पन्न गरेर बुझाउन नपाउँदा पुनः मर्मत गर्नुपर्ने अवस्था आएको उनले बताए । ‘रकमको भुक्तानीमा पनि कुनै समस्या होइन, तर मृतकका नाम नै पाउन सकिएन,’ उनले भने, ‘म्याद पनि थप भएर बसेको छ ।’ डिजाइनअनुसार स्मृति पार्कमा नाम राख्नुपर्ने उनले बताए ।
‘मृतककै नामबिना स्मृति पार्क हुने कुरा पनि भएन, त्यसैका लागि भनेर संरचना (पिलर) पनि बनाइएको छ,’ बानियाँले भने । २०७४ मंसिर १४ मा ठेक्का सम्झौता गरेर पार्क निर्माण सुरु भएको हो । ३० महिनामा निर्माण सक्ने लक्ष्य राखिए पनि सम्झौता अवधिमा काम नसकिएपछि तीन पटक म्याद थप भएको थियो । १३ करोड ७ लाखको लागतमा स्मृति पार्क बनाइएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत तत्कालीन जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) ले २०७२ को भूकम्पमा ज्यान गुमाएकाहरूको सम्झनामा पार्क निर्माण सुरु गरेको थियो । स्मृति पार्क निर्माणका लागि संघीय आयोजना कार्यान्वयन इकाइअन्तर्गतको पोखरा कार्यालयले पनि नामावली केन्द्रीय कार्यालयमार्फत गृह मन्त्रालयसँग माग गर्दै आएको छ । ‘९५ प्रतिशत काम भइसकेको छ, टुटफुट भएका संरचनाको मर्मत र नाम टाँस्ने काम मात्र बाँकी हो,’ पोखरा कार्यालका इन्जिनियर वीरवल सुनारले भने, ‘सबै जिल्लाको नाम प्राप्त नहुने हो भने गोरखामा मृत्यु भएकाहरूको नाम भए पनि राखौं, बरु बाँकी १३ जिल्लाका मृतकको संख्या मात्रै राखौं भनेर पनि प्रस्ताव पठाएका छौं, त्यसमा पनि कुनै निर्णय भएको छैन ।’
पार्कमा शौचालय, खाजा घर (क्यान्टिन), गार्ड हाउस, तीन सय मिटर सडक कालोपत्र, टिकट घरलगायतका संरचना निर्माण भइसकेको उनले बताए । भूकम्पमा परी मृत्यु भएकाको नाम गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्बाट निर्णय गरेर मात्र अन्तिम निर्णय गर्नुपर्ने भएकाले पनि ढिलाइ भएको बताइएको छ । बारपाकमा निर्माण भएको स्मृति पार्कअन्तर्गत स्मृति स्तम्भ प्रमुख आकर्षणको केन्द्रका रूपमा रहनेछ । बारपाकमा सरकारी स्वामित्वमा रहेको २ सय १६ रोपनी क्षेत्रफलमा स्मृति स्तम्भ, बगैंचालगायतका संरचना बनाइएको हो ।
साभार ः ईकान्तिपुर