देवचुली
महाशिवरात्री पर्वको अवसरमा नवलपुरको देवचुलीमा रहेको शाश्वधाम परिसरमा झन्डोत्तलनसँगै एकाम्बेश्वर महादेवको पूजा अर्चना गरी महाशिवरात्री पर्व मनाइएको छ।
शुक्रबार नवलपुर जिल्लाका विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा शाश्वतधामको प्रवेशद्वारमा रहेको ओम अङ्कित झण्डाहरू अनावरण गरी महाशिवरात्री पर्व मनाइएको हो।
झण्डोत्तलन कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्मा, उपप्रमुख शकुन्तला लम्साल, सदस्य सरस्वती पाठक, प्रहरी उपरीक्षक नरहरी रेग्मी, देवचुली नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष शरदप्रसाद घिमिरे, वडा नम्बर ३ का वडा अध्यक्ष होमनाथ पौडेल, वडा नं ५ का वडा अध्यक्ष कृष्णप्रसाद सापकोटा, समाजसेवी तिलप्रसाद पाठक, अशोक बस्ताकोटी लगायत सिजीआइपीका वरिष्ठ महाप्रबन्धक रामकाजी सिटौला, शाश्वत धामका प्रमुख अशोक घर्ती लगायतका व्यक्तित्वहरूको उपस्थितिमा झण्डोत्तलन गरिएको हो।
शाश्वधाम वैदिक गुरुकुलमा अध्ययन गर्ने बटुकहरूको स्वस्तिवाचनसँगै झण्डोत्तलन गरेपछि विशिष्ट पाहुना र शाश्वधाम परिवारले शाश्वतधामको परिक्रमा गरी मन्दिरभित्र रहेको एकाम्वेश्वर महादेवको पूजा अर्चना गरेको हो।
आजभन्दा सात वर्ष पहिले प्राण प्रतिष्ठा गरिएको एकाम्बेश्वर महादेवको मूर्तिमा पूजा अर्चना र दीप प्रज्वलन गरी विशिष्ट व्यक्तित्वहरुले प्रसाद ग्रहण गर्नुभएको थियो।
कार्यक्रमको सहजीकरण चौधरी उद्योगका सिएसआर प्रमुख गोविन्द रेग्मीले गर्नुभएको हो ।
नेपालकै बेस्ट टुरिजम डेस्टिनेसन घोषणा भइसकेको शाश्वतधाममा हालसम्म ५० लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकन गरिसकेका छन्।