देवचुली,
महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी भन्ने नाराका साथ देवचुली नगरपालिकाले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ मनाएको छ । महिला दिवसको अवसरमा बिहिबार देवचुली नगरपालिकाले वृक्तत्वकला प्रतियोगिताको आयोजना गरि यस वर्षको महिला दिवस मनाएको छ ।
देवचुली नगरपालिकाका सामाजिक विकास समितिका संयोजक भूमिसरा आलेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता देवचुली नगरपालिकाकी नगर उपप्रमुख पार्वता तिवारीले गर्नुभएको थियो । कार्यक्रममा देवचुली नगरपालिका भित्रका महिलाहरु बिच वृक्तत्वकला प्रतियोगिता गराइएको थियो ।
जसमा ८ जना महिलाहरुले प्रतियोगितामा भाग लिएका थिए । महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी भन्ने शिर्षकमा रहेर प्रतियोगिहरुले बोलेका थिए । साथै अप्रतियोगी महिलाहरुले आँफूमा भएका विभिन्न क्षमताहरु प्रस्तुत समेत गरेका थिए ।
प्रतियोगितामा देवचुली वडा नं ९ बाट सहभागी रहनुभएको सारा काफ्ले भुसाल प्रथम , देवचुली ३ की गोमा तिवारी द्वितीय र देवचुली १३ की शर्मिला सापकोटा तृतीय हुन सफल हुनुभएको छ। यो संगै बिजयी हुने सम्पूर्णलाई आजै पुरस्कार वितरण गरिएको छ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख तिवारीले विगतका दिनहरुको तुलनामा समाज खुल्ला हुँदै गएको र चेतनाको विकास क्रमशः बढ्दै गएकाले पनि महिलाहरुलाई काम गर्न सहज भइरहेको बताउनुभएको थियो । साथै उहाँले मानिसको सोच र व्यवहारमा अझै परिवर्तन हुनु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको बारेमा देवचुली नगरपालिकाका कार्यपालिका सदस्य पार्वती अर्याल कण्डेलले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा सकला सामाजिक उद्यमी महिला सहकारी संस्था, दिव्यपुरी महिला स्वालम्बन बहुउद्धेश्यीय सहकारी संस्था, महिला कल्याण बहुउदेश्यीय सहकारी संस्था र महिला कल्याण बहुउदेश्यीय सहकारी संस्था रजहरले समनव्य गरेको थियो । वक्तृत्वकला प्रतियोगितामा सिता देवि पौडेल, ईश्वरी खनाल र करण खड्काले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
देवचुली नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विमला लम्सालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा देवचुली नगरपालिका कार्यपालिका सदस्य फूलमाया वि.कले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिकाका १७ वटै वडाका वडाध्यक्ष, कार्यापालिका सदस्य, वडा सदस्य, नगरभित्रका विभिन्न आमा समूहहरु अध्यक्ष एवम् प्रतिनिधि, नगरपालिकाका विभिन्न शाखाका प्रमुख, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा , दिव्यपुरी स्वाबलम्ब सहकारीका अध्यक्ष रेनुका न्यौपाने , महिला कल्याणका सहकारीका अध्यक्ष रत्नमाया विश्वकर्मा , देवचुली १३ का वडा अध्यक्ष एकदेव पौडेल लगायतका वक्ताहरुले आफ्नो भनाई राख्नुभएको थियो।