देवचुली
रजहर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनको लागी ६० जनाको उम्मेद्वारी दर्ता भएको छ।
संस्थाको कार्यसमिति पदमा १३ जना र लेखा समितिमा आवश्यक ३ पद गरि जम्मा १६ वटा पदको लागी ६० जनाले उम्मेद्वारी दर्ता गराएको निर्वाचन समितिका संयोजक शिवहरि अधिकारीले जानकारी दिएका छन्।
अधिकारीका अनुसार कार्यसमिति सदस्य अन्तरगत अध्यक्ष पदको लागी मात्र ७ जनाको उम्मेद्वारी परेको छ। अध्यक्ष पदको लागी संस्थाकै वर्तमान अध्यक्ष गङ्गा बहादुर थापा , देवचुली १६ का निवर्तमान वडा अध्यक्ष केशर बहादुर क्षेत्री र देवचुली १७ का निवर्तमान वडा अध्यक्ष विष्णु प्रसाद आचार्य सहित ७ जनाको उम्मेद्वारी परेको छ।
यता उपाध्यक्षमा ५ जना , सचिवमा ५ जना , कोषाध्यक्षमा ४ जना , सह सचिवमा ४ जना र सदस्य पदको लागी २४ जनाले उम्मेद्वारी दिएका छन्। लेखा संयोजकको लागी ४ जना र लेखा समिति सदस्यको लागी ७ जनाले उम्मेद्वारी दिएका छन्।
संस्थाले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार फाल्गुन २३ गते बुधबार मध्यान्ह १२ बजे सम्म उम्मेदवारमाथि दावी विरोध लगत्तै दावा विरोध पछिको अन्तिम नामावली पुन प्रकाशन गरिनेछ।
यो सँगै २४ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन, २५ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान , २५ गते देखि २८ गते सम्म प्रचारप्रसार र २८ गते मध्यरात पश्चात मौन अवधि सुरु र फागुन ३० गते बिहान साढे ८ बजेदेखि मतदान सुरु गरिने निर्वाचन संयोजक अधिकारीले बताएका छन्।