देवचुली,
दादुरा रुवेला खोप अभियान देवचुली नगरपालिकामा सुरु भएको छ । आइतबार देवचुली नगरपालिकाको वडा नं १७ मा रहेको बरचुली माध्यमिक विद्यालयमा देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेले अभियानको शुभारम्भ गर्नुभएको हो । नगरप्रमुख न्यौपानेले स्वास्थ्यकर्मीहरुलाई खोप सामाग्री र अभिभावकलाई खोप कार्ड दिएर अभियानको सुरुवात गर्नुभएको थियो । दादुरा, रुवेला संक्रमणलाई शून्यमा झार्ने अभियानलाई सफल पार्न सम्पूर्णलाई आ–आफ्ना ठाउँबाट सहयोग गर्न नगरप्रमुख न्यौपानेले अनुरोध गर्नुभएको थियो ।
खोप अभियान देवचुलीमा फाल्गुन २० गतेदेखि २७ गतेसम्म जारी रहने छ । खोप नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई लगाइने छ । देवचुली नगरपालिकामा संचालन गरिएको दादुरा रुवेला खोप अभियानमा ३० खोप कार्यकर्ता, ४१ जना स्वयंसेवक, ३० जना स्वास्थ्यकर्मी र करिब एकसय जना शिक्षक परिचालन गरिएको देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले बताउनुभयो । उहाँले देवचुली नगरपालिकामा ९ महिनादेखी १५ बर्षसम्मका १९ हजार ९ सय ८ जना बालबालिका रहेकाले कोही पनि खोप लगाउनबाट छुट्न नहुने बताउनुभयो ।
देवचुली नगरपालिकाको दिव्य एकेडेमी, पाठशाला मन्टेश्वरी, वैदिक कर्मकाण्ड शास्वतधाम, शान्ती सिर्जना आधारभूत विद्यालय, दिव्यज्योति आधारभूत विद्यालय, आशाको किरण मन्टेश्वरी, नेपाल धर्ती आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय कुमसोत, भीमसेन आदर्श नमूना माध्यमिक विद्यालय, मिलिजुली आधारभूत विद्यालय, कालिका माध्यमिक विद्यालय, बालमिकी आधारभूत विद्यालय, नारायणी आधारभूत विद्यालय, पशुपति साङ्गवेद संस्कृत आवासीय माध्यमिक विद्यालय, नवनेपाल आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय , वरचुली माध्यमिक विद्यालयमा दादुरा रुवेला खोप अभियान आजबाट सुरु भएको छ ।
दादुरा रुवेला खोप अभियान शुभारम्भ कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय नवलपुरका प्रमुख मुक्तिनाथ भट्टराई, बुलिङ्टार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी, देवचुली नगरपालिका वडा नं १६ का वडाध्यक्ष केशवराज गौतम, देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्मा, देवचुली नगरपालिकाका स्वास्थ्य शाखाका सि.अ.हे.व शिव पराजुली, पिताम्बर भुर्तेल लगायतको उपस्थिति रहेको थियो ।