देवचुली
जनज्योति आदर्श बहुमुखी क्याम्पस प्रगतिनगरमा सामुदायिक क्याम्पस सञ्चालन एवं व्यवस्थापन सम्बन्धी उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार क्याम्पस सभाहालमा भएको कार्यक्रमको अध्यक्षता क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दयराज तिवारीले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख आतिथ्यता देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले सामुदायिक क्याम्पसहरुमा "प्लस टु" पछि विद्यार्थी नरहने देशैभरको समस्या रहेको भन्दै अहिलेको पुस्तामा सामुदायिक क्याम्पसहरूमा लगाव कम रहेको जिकिर गर्नुभयो। उहाँले उत्कृष्ट विद्यार्थीहरूलाई त्रिभुवन विश्वविद्यालयले विभिन्न बहानामा जिल्ला बाहिर जाने अवस्था बनाउने भएकाले आगामी दिनमा त्यो रोक्नका लागि समुदाय स्तरबाटै गम्भीर हुनुपर्ने बताउनुभयो ।
उत्प्रेरणा कार्यक्रमको मुख्य प्रशिक्षकका रूपमा रहनुभएका राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका पूर्व निर्देशक दिपेन्द्र ढकालले सामुदायिक क्याम्पसहरु सही ढङ्गबाट सञ्चालन हुनका लागि क्याम्पसको बागडोर सम्हाल्नेहरु नै दूरदर्शी र कर्तव्यनिष्ठ रहनुपर्ने बताउनुभयो । हाँले सामुदायिक क्याम्पसहरुको व्यवस्थापन र कार्यक्रमहरू सञ्चालन गर्दा समुदायमुखी हुनुपर्नेमा जोड दिनुभयो । ढकालले सामुदायिक क्याम्पसको वृद्धि विकासका लागि सञ्चालक समिति मात्र नभई प्राध्यापक, विद्यार्थी र समुदायका सम्पूर्ण दिग्गज व्यक्तिहरू जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
वर्तमान अवस्थामा नेपालमा सामुदायिक क्याम्पसहरूको अवस्था अधिकांशको दयनीय रहेको भन्दै प्रमुख प्रशिक्षक ढकालले शिक्षाको अवस्था कमजोर हुँदा देशलाई घाटा हुने बताउनुभयो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य सरस्वती तिमल्सिना, जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मा लगायतले आफ्ना भनाई राख्नुभएको थियो ।
जनज्योति आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पशुपति भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण क्याम्पसका सहप्राध्यापक सोम सुवेदीले गर्नुभएको थियो। कार्यक्रममा क्याम्पसका प्राध्यापकहरू विभिन्न क्षेत्रका विभिन्न व्यक्तित्वहरु समाजसेवी बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।