देवचुली
मध्यनेपाल साकोसको आयोजनामा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम र सदस्य दुर्घटना बिमाको चेक हस्तान्तरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ। साकोसको नव प्रगति सेवा केन्द्रकाे आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
सेवा केन्द्र व्यवस्थापन उप समितिका संयोजक इन्द्र प्रसाद घिमिरेको अध्यक्षता सँगै तथा संस्थाका अध्यक्ष तुलमणी पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ। आयोजकका अनुसार कार्यक्रममा मोटरसाइकल दुर्घटनामा परि निधन भएका शेयर सदस्य खडानन्द काफ्ले जैसीको परिवारका सदस्यलाई संस्थाले गरेको दुर्घटना बिमा अन्तरगत रू २ लाख रूपैयाकाे चेक हस्तान्तरण गरिएको थियो।
चेक हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रेमाकुमारी खनाल, सचिव डिलाराम पाण्डे, कोषाध्यक्ष जगन्नाथ अर्याल , संस्थाका सदस्यहरू , पृथ्वी सेवा केन्द्रका संयोजक राधादेवी न्यौपाने तथा संस्थामा आबद्ध विभिन्न आमा समूह , टोल विकास समिति सँगै स्थानीय संघ संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा चेक हस्तान्तरण सँगै उपस्थित सम्पुर्णलाई वित्तीय साक्षरताको बारेमा बताइएको थियो। कार्यक्रममा विशेष आतिथ्यताको रुपमा रहेका सिद्धार्थ प्रिमियर इन्स्युरेन्स कावासोती शाखाका प्रमुख नारायण प्रसाद काफ्ले र वेद प्रसाद न्यौपानेले बिमा सम्बन्धी विविध जानकारी प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्दै साकोसका अध्यक्ष तुलमणि पौडेलले हाल वित्तीय बजारमा उठेका नकरात्मक भ्रममा नपर्न आफ्नो शेयर सदस्यहरूमा अनुरोध गरेका थिए।
नव प्रगति सेवा केन्द्र व्यवस्थापन उप समिति सह संयोजक भवानी प्रसाद तिवारीको स्वागत मन्तव्य रहेको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत नरभूपाल भुसालले वित्तीय साक्षरता सम्बन्धी प्रस्तुतिकरण दिएका थिए।