देवचुली,
भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धि स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले बिहिबार नवलपुरको देवचुली नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका कार्यालय प्रमुख सह–सचिव राजेन्द्र कुमार पौडेलको अध्यक्षतामा उक्त छलफल कार्यक्रम समपन्न भएको हाे ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलका प्रहरी निरीक्षक जीवन लामिछानेले भ्रष्टाचारको परिचय, भ्रष्टचारका कारण र असरहरु, भ्रष्टाचार नियन्त्रणको आवश्यकता, भ्रष्टाचारका कसुरहरु तथा सजायको प्रावधान, भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक, कानूनी र संरचनागत व्यवस्था लगायतका विभिन्न विषय वस्तुको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका सि.डि.ई पुण्यराम सुलुले भ्रष्टाचार सम्बन्धमा विश्वमा नेपालको अवस्था भयवह रहेको बताउनुभएकाे थियो । साथै उहाँले भ्रष्टाचारको प्रवृत्ति र प्रकृति, भ्रष्टाचार नियन्त्रणका लागि हाम्रो भूमिका कस्तो रहनुपर्छ भन्ने विषयमा समेत जानकारी गराउनुभएकाे थियो ।
कार्यक्रममा उपस्थित वक्ताहरुले भ्रष्टाचार नगरेको अवस्थामा पनि बेला–बेला दुःख दिने प्रवृत्ति, भ्रष्ट्राचार गर्नेले सजाय पाएका छन् वा छैनन् , ठूला भ्रष्टाचार गर्नेलाई अख्तियारले सोधपुछ गरेको छ वा छैन् जस्ता विभिन्न जिज्ञासा राखेका थिए ।
कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेले कार्यक्रम आयोजना गरेकोमा आयोगको कार्यालयलाई धन्यवाद दिदै जनप्रतिनिधिहरु पारदर्शी रुपमा काम गर्न तयार रहेको बताउँदै आयोगले यस्ता सचेतनामूलक र प्रवर्द्धनात्मक कार्यहरु पालिकास्तरमा गर्दै जानुपर्ने धारणा राख्नुभएकाे थियाे । साथै उहाँले देवचुली नगरपालिका दुम्कौलीमा निर्माणाधीन अवस्थामा रहेको देवचुली नगर अस्पतालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले अनुगमन गर्नलाइ आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, देवचुली नगरपालिकाका प्रवक्ता तिल प्रसाद काफ्ले, कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम कोइराला लगायतले शुभकामना मन्तव्य राख्दै कार्यक्रम फलदायी रहेको बताउँदै यस्ता कार्यक्रमले आगामी दिनमा समेत निरन्तरता पाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका कार्यालय प्रमुख सह–सचिव राजेन्द्र कुमार पौडेलले वक्ताहरुबाट आएका जिज्ञासाको जवाफ दिँदै भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मात्र नभई सबैको रहेको बताउँदै सबैले आ–आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिका भित्र रहेका १७ वटै वडाका वडाध्यक्ष, कार्यापालिका सदस्य, विभिन्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, सामुदायिक वनका अध्यक्ष, खानेपानी संस्थाका अध्यक्ष, नगरपालिकाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।