देवचुली
राष्ट्रिय लोक दोहोरी गायक तथा लोक स्वर सम्राट राजु परियारको बेजोड प्रस्तुति सँगै मगर एकता दिवसका कार्यक्रमहरू सकिएका छन्।
४२ औं मगर एकता दिवसको अवसरमा नवदुर्गा युवा क्लब र लालीगुराँस आमा समूह देवचुली ६ को आयोजनामा भएको तिन दिने विविध खेलकुद एवम् सांस्कृतिक कार्यक्रम मंगलबार सम्पन्न भएको हो।
क्लबका अध्यक्ष कुल प्रसाद गाहाको अध्यक्षता सँगै नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष तारा थापा मगरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। गत १३ गते देखि सञ्चालन गरिएको कार्यक्रममा ३५ वर्ष भन्दा माथिका पुरुषहरू बिच भलिबल प्रतियोगिता , आमा समुहहरूको बिचमा डोरी तान्ने प्रतियोगिता र घैंटो फुटाउने प्रतियोगिताको विजेता समुहहरूलाई पुरस्कार वितरण गरिएको थियो।
अन्तिम दिनमा पुरुष भलिबलका विजेता समुहलाई एउटा खसी , महिला भलिबलका बिजेतालाई नगद २५ सय , डोरी तान्ने प्रतियोगिताका विजेता समुहलाई नगद २ हजार तथा घैंटो फुटाउने प्रतियोगिताको बिजेताहरूलाई जनही नगद ५/५ सयका दरले पुरस्कृत गरिएको थियो।
कार्यक्रमको अन्तिम दिन राष्ट्रिय लोक दोहोरी गायक राजु परियारले सुन पानीले छर्क मायालु , लालुपाते नुग्यो भुइँतिर , झिम झिम सानु नझिम्काउ परेली , सुर्ती जर्दाले जस्ता नयाँ तथा पुराना गीत गाएका थिए भने गायक एजिकल परियार र सानु पुलामी मगर तथा गायिका सपना परियार र अस्मी थापा मगरले आआफ्नो विशेष प्रस्तुति दिएका थिए।
कार्यक्रममा देवचुली ६ का वडा अध्यक्ष मिन बहादुर सोती , ७ का वडा अध्यक्ष भुमिसरा आले , १४ का वडा अध्यक्ष गोपाल थापा सँगै बिभिन्न वडाका वडा सदस्यहरू , रास्वपाका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सभापति राजन गौतम , नेपाल मगर संघ जिल्ला अध्यक्ष भुम बहादुर राई , स्थानीय क्लब , बन तथा आमा समुहका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो।
क्लब तथा आमा समूहको विशेष प्रस्तुति सँगै अन्य स्थानीय कलाकारहरूको नृत्य प्रस्तुत गरिएको थियो।
क्लबका सचिव लगन सुनारिको स्वागत मन्तव्य रहेको कार्यक्रममा देवचुली ६ का वडा अध्यक्ष मिन बहादुर सोती , वडा सदस्य गुम बहादुर थापा , रास्वपा गण्डकी सभापति राजन गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए। मन्तव्यको क्रममा वक्ताहरूले कार्यक्रमको सफलताको सँगै सम्पूर्णमा मगर एकता दिवसको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष तारा थापा मगरले मगर जातिको इतिहास सँगै कला संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता रहेकाले अब मगर जातिहरू सामाजिक , शैक्षिक तथा राजनीतिक क्षेत्रमा फड्को मार्दै नेतृत्व तहमा पुगी आफुहरुलाई अब्बल साबित गर्न सबै मगर समुदायलाई आग्रह गरेकी थिइन्।