देवचुली,
फाल्गुन १५ गते देशभर ४२औं मगर एकता दिवस भव्यताका साथ मनाईएको छ। नवलपुरको देवचुली नगरपालिकामा रहेको पुर्खौली मगर समाजले नवनिर्मित भवन उद्घाटन गरि मगर एकता दिवस मनाएको छ। मगर समाजले मंगलबार देवचुली नगरपालिका वडा नं ४ झाक्रे शान्ति डाँडामा एक कार्यक्रमको आयोजना गरि भवन उद्घाटन, सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।
समाजका अध्यक्ष यमबहादुर राना मगरको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल मगर संघका केन्द्रिय सदस्य मेखबहादुर सारु मगर रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सारुले मगर समुदायको उत्थानका निमित्त गाउँस्तरबाट केन्द्रसम्मै एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले पुर्खौली मगर समाजले भवन बनाउन सफल भएकोमा बधाई ज्ञापन गर्दै अब अन्य साना ठूला कार्यक्रम गर्न सहज हुने बताउनुभयो ।
उहाँले मगर समाजको लोगो नै शान्ति, एकता, भाईचारा र इमान्दारिताको प्रतीक भएकाले मगर एकता दिवस मनाउँदै गर्दा मगर समुदाय हरेक काममा एकजुट हुनुपर्ने बताउनुभयो ।कार्यक्रममा देवचुली नगरपालिका वडा नं ४ का वडाध्यक्ष गीरबहादुर थापा क्षेत्री "राम", नेपाल मगर संघका जिल्ला अध्यक्ष भुमबहादुर राई मगर, जिल्ला मगर संघ समन्वय समितिका सदस्य मनबहादुर सुनाखरी मगर, दिव्य एकेडमीका प्रधानाध्यापक कोपिला भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल मगर संघ देवचुली नगरपालिकाका संस्थापक अध्यक्ष कमलप्रसाद वाचे मगर तथा निवर्तमान अध्यक्ष टुकलाल रुचाल मगर लगायतका व्यक्तित्वहरुको उपस्तिथि रहेको थियो।
कार्यक्रममा पुर्खौली मगर समाजको भवन निर्माणमा सहयोग गर्ने व्यक्ती तथा संस्था एवं जग्गादाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम कलाकार भीम राना, अभिषेक राना लगायत अन्य स्थानीय कलाकारको प्रस्तुति रहेको थियो । साथमा कार्यक्रममा मगर समुदायको कौरा नृत्य, झ्याउरे, सालैजो, चुट्का लगायतका नृत्य प्रस्तुत गरिएको थियो । यसैगरि नवलपुर डान्स आइडलका कलाकारहरुको समेत प्रस्तुति रहेको थियो ।
संस्थाका सहसचिव सीता सारु मगरको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण पुर्खौली मगर समाजका सचिव देवबहादुर राना मगर र साँस्कृतिक समूहका सचिव निरमाया गाहा मगरले गर्नुभएको थियो।