देवचुली,
४२ औं मगर एकता दिवसको अवसरमा नवदुर्गा युवा क्लब र लालीगुराँस आमा समूहको आयोजनामा (आज ) आइतबार देखि विभिन्न खेलकुद कार्यक्रम एवम् सांस्कृतिक कार्यक्रम सुरु भएको छ । देवचुली ६ मुण्डे गेट प्लटिङमा आइतबार ३५ वर्ष भन्दा माथिका पुरुषहरू बिच भलिबल प्रतियोगिता भएको छ ।
पहिलो दिनको खेलमा लाङ्घाली कुडौली युवा क्लब , मुडाबास , नवदुर्गा युवा क्लब र संयुक्त भूपू समुहले जित निकाल्दै अर्को चरणमा प्रवेश गरेको छ। प्रतियोगितामा लाङ्घाली कुडौली युवा क्लबले नव दुर्गा युवा क्लबलाई , मुडाबासले रामबासलाई , नवदुर्गा युवा क्लबले कुम्सोतलाई र संयुत भूपू समुहले पृथ्वी समाजको टिमलाई पराजित गर्दै अर्को चरणको लागी प्रवेश पाएको छ। नवदुर्गा युवा क्लबका अध्यक्ष कुल प्रसाद गाहाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता देवचुली वडा नं ६ का वडाध्यक्ष मीन बहादुर सोतीले गर्नुभएको थियो ।
३ दिन सम्म सञ्चालन हुने कार्यक्रममा फाल्गुन १४ गते बिहान भलिबल प्रतियोगिता र मध्यान्ह पछि घैँटो फुटाई र डोरी तान्ने प्रतियोगिता हुनेछन्। कार्यक्रमको अन्तिम दिन अर्थात् फाल्गुन १५ गते मंगलबार कार्यक्रमको समापन सँगै विविध सांस्कृतिक कार्यक्रम गरिने क्लबका अध्यक्ष गाहाले बताउनुभएको छ ।
गाहाका अनुसार सांस्कृतिक कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायक राजु परियार सहित गायक सानु पुलामी मगर, एजिकल परियार, गायिका सपना परियार, अश्मि थापा मगर, गायक तथा डान्सर अभिषेक राना मगर, अनियस अस्लामी मगर, इशा गुरुङ, कोरियोग्राफर जीवन गुरुङ तथा नौमती लाफा मगर बाजा समूहको विशेष प्रस्तुती रहनेछ।