देवचुली,
गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका दुई खेल देवचुली नगरपालिकामा संचालन गरिने विषयमा देवचुलीमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगर खेलकुद विकास समिति देवचुलीका अध्यक्ष चन्द्रबहादुर सिंजालीको अध्यक्षतामा मंलबार बसेको अन्तक्रिया कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा खेलमैदान व्यवस्थापन, विद्यार्थी, खेलाडी आवतजावतका लागि यातायात व्यवस्थापन, खाजाखाना तथा बस्ने व्यवस्थापन, खानेपानी व्यवस्थापन, प्राथमिक उपचार लगायतका विषयमा अन्तरक्रिया तथा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरप्रमुख न्यौपानेले सव्य र भव्य तरिकाले प्रतियोगिता सम्पन्न गर्न सके खेलको माध्यमबाट देवचुलीको छुट्टै पहिचान बनाउन सकिने बताउनुभयो । साथै उहाँले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
छलफलमा सबै बिद्यालयहरूले खेलाडीहरूको लागि आवश्यक गाडी उपलब्ध गराउने, खानेपानीको व्यवस्थापनमा प्रगतिनगर खानेपानी र रजहर खानेपानी संस्थाले गर्ने, अन्य जिल्लाबाट आउने बिद्यार्थी, खेलाडीहरूलाई भव्य स्वागत गर्ने, स्वयंसेवक भुमिका आफुलाई अनुकूल हुने स्थानमा १७ बटा वडा युवा तथा खेलकुद विकास समितिले गर्ने खेलकुद विकास समिति देवचुलीका अध्यक्ष सिंजालीले बताउनुभयो ।
कार्यक्रममा देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशसकीय अधिकृत मुकुन्द शर्मा, नगर प्रवक्ता तिल काफ्ले, विभिन्न वडाका वडाध्यक्ष,विभिन्न विद्यालयका शिक्षकशिक्षिका, खेलकुद विकास समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण खेलकुद विकास समिति देवचुलीका सदस्य सचिव प्रकाश काफ्लेले गर्नुभएको थियो ।
प्रदेश खेलकुद परिषदको आयोजना तथा जिल्ला खेलकुद विकास समिति नवलपुरको व्यवस्थापनमा फाल्गुन ११ देखि १३ गते सम्म जिल्लाका विभिन्न पालिकामा खेल हुनेछ । यसैगरि देवचुली नगरपालिकामा भलिबल खेल धारापानीको खेलमैदानमा हुने र कबड्डी देवचुली १६ रजहरमा रहेको देवचुली मा.विमा हुने भएको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लाका ६ सय खेलाडीहरुको सहभागीता रहनेछ ।