गैंडाकोट,
नवलपुरको गैडाकोट वडा नं १५ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयले आफ्नो ५६ औं बार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रम गरि मनाएको छ । गैंडाकोट १५ अमरापुरीमा अवस्थित लक्ष्मी माध्यमिक विद्यालयकाे गैंडाकोट वडा नं १५ का वडाध्यक्ष प्रेमराज तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीको रहेको थियो ।
५६ औं बार्षिकोत्सवको अवसरमा विद्यालयमा आर्थिक बर्ष २०७९/०८० मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत नवनिर्मित ४ कोठे भवनको समुद्घाटन गरिएको छ । कार्यक्रमको प्रमुख आतिथ्यता रहनुभएका गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदन भक्त अधिकारीले नवनिर्मित ४ कोठे भवनको समुदघाटन र चमेना गृहको शिलान्यास गर्नुभएको छ ।
कार्यक्रममा विद्यायका प्रधानाध्यापक मणिकण्ठ कंडेलले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै उहाँले विद्यालयमा भौतिक संरचनाको आवश्यकता रहेकाले त्यसको लागि नगरपालिकालाई सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
यसैगरि कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहनुभएका नगरप्रमुख अधिकारीले विद्यालयमा प्रतिबर्ष विद्यार्थीको संख्या घट्दै गएकोमा शिक्षकहरूलाई यस विषयमा संयमित हुन आवश्यक रहेको र अब बिस्तारै पठनपाठनलाई सहज र गुणस्तर बनाउन विद्यालय मर्ज गर्नुपर्ने देखिएको बताउनुभयो । साथै उहाँले नवनिर्मित चार कोठे भवनको माथिल्लो तला थप्न नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा समाजसेवि पुष्पराज पौडेल, जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक चुणामणि शर्मा कंडेल, गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयको उतरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभएको थियो ।
यसैगरि कार्यक्रममा शिक्षा विकास समन्वय ईकाई नवलपुरका प्रमुख रूद्र प्रसाद शर्माले विद्यालयमा व्यवस्थापन समिति गठन गर्न नसक्नुले शिक्षा क्षेत्र र समाजमा नकारात्मक प्रभाव परेको भन्दै तत्काल विद्यालय व्यवस्थापन समिति गठन गर्न आग्रह गर्नुभएको छ ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत जेहेन्दार तथा गरिब विद्यार्थीहरूलाई विभिन्न व्यक्तिहरूले स्थापना गर्नुभएका अक्षयकोषको छात्रवृत्ति वितरण गरिएको थियो । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट भएका अभिभावक र विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएकोे थियो । विद्यालयका सह-प्रधानाध्यापक तिलक बहादुर बटलाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन शिक्षकद्वय कृष्ण प्रसाद सापकोटा र कमलादेवि ढकालले गर्नुभएको थियो ।
अध्यक्ष तिमिल्सनाले कार्यक्रम समापन गर्दै विद्यालयको हालको गतिविधिबारे जानकारी गराउँदै समिति, शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी, सरोकारवाला सबैको साथ सहयोगले पालिकाको मात्रै नभई जिल्लाकै उत्कृष्ट विद्यालयमा पर्ने सफल भएको बताउँदै आगामी दिनमा पनि सम्पुर्णको सहयोगको आवश्यकता रहेको बताउनुभएको थियो ।
लक्ष्मी माध्यमिक विद्यालयमा विद्यालयमा ८ सय ४८ जना विद्यार्थी पठनपाठन गर्छन् भने ४४ जना शिक्षकशिक्षिकाले अध्यापन गराउँछन् ।