भरतपुर, ६ फागुन ।
चितवन व्राण्डको रुपमा स्थापित १८औं सौराहा फुड फेस्टिवल बिहीबार राति सकिएको छ । चितवनको पर्यटकीय नगरी सौराहामा प्रणय दिवसको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहाले फेस्टिवल आयोजना गरेको थियो ।
५ दिनसम्म सञ्चालन भएको सो फेस्टिवल पर्यटन प्रवर्द्बनका हिसाबले सफल भएको र ३० हजार पर्यटकले अवलोकनसँगै झण्डै १ करोड बढी कारोबार भएको रेवान सौराहाका अध्यक्ष ध्रुुव गिरीले जानकारी दिए ।
चार दिन प्रवेश शुल्क नि:शुल्क गरेको रेवानले प्रणय दिवसको दिन फागुन २ गते मात्र प्रवेश शुल्क लिएको थियो । सो दिन १२ हजार बढीले फेस्टिवल अवलोकन गरेको अध्यक्ष गिरीले बताए । एक दिन लगाइएको प्रवेश शुल्क बापत भएको आम्दानी सौराहाको सौन्दर्यकणका लागि खर्च गर्ने योजना रहेको अध्यक्ष गिरीले बताए ।
होटल आइकावाको सेवा उत्कृष्ट
फेस्टिवलमा उत्कृष्ट होटल तथा रेष्टुरेन्टमा होटल आईकावा प्रथम, केसी रेष्टुरेन्ट द्वितीय र होली लज तृतीय हुँदै नगद पुरस्कार प्राप्त गरेको महासचिव नवीन नेपालले बताए । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिवसको अवसर पारेर फेस्टिवल आयोजना गरिएको हो ।
सौराहाका व्यवसायीले मुनाफा आर्जन गर्नु भन्दा पनि सौराहामा पर्यटक भित्र्याउन हरेक वर्ष फेस्टिवल गर्दै आएको कार्यक्रम संयोजक सूर्यबहादुर रिमालले बताए ।
फेस्टिबल अन्तर्गत विभिन्न सांस्कृतिक कार्यक्रम, स्वादिष्ट खानाका परिकार र विभिन्न प्रतियोगिता गरिएको संयोजक रिमालले बताए । समापन कार्यक्रममा वेटर रेस, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता र म्युजिकल चियर प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार तथा फेस्टिवल सफल बनाउन सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
सोही कार्यक्रममा रक्तक्यान्सरबाट पीडित व्यवसायी राजन तामाङकी धर्मपत्नीको उपचारको लागि रेवान सौराहाले १५ हजार र सपना भिलेज सोसल इम्प्याक्टले १५ हजार आर्थिक सहयोग गरेका थिए ।
समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले सौराहा पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिवल आयोजना गरिएको रेवानका महासचिव नवीन नेपालले जानकारी दिए ।
रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिवलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका थिए ।