शाश्वतधाम
पूर्वी नवलपरासीमा तेस्रो संस्करणको घडियाल काव्य उत्सव गरिएको छ । ह्याप्पी एफएमको आयोजनामा गरिएको कार्यक्रममा पहिलो दिन माघ २८ गते र दोस्रो दिन २९ गते गरी विभिन्न ७ वटा विषयमा छलफल कार्यक्रम भएका छन् ।
शाश्वतधाममा गरिएको कार्यक्रमलाई गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषि मन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गरेका हुन् । कार्यक्रम उद्घाटन गर्दै मन्त्री जिसीले घडियाल काव्य उत्सवले लोपोन्मुख घडियाल गोहीको संरक्षणसँगै प्रकृति संरक्षण एवम् यस क्षेत्रको पर्यटन र साहित्यको प्रवर्द्धनमा टेवा पुग्ने बताए ।
उद्घाटनपछि विभिन्न शीर्षकमा छलफल भएका छन् । पहिलो दिन नवलपुरमा पर्यटन : हिजो, आज र भोलि शीर्षकमा छलफल भएको छ । यो सत्रमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशका सचिव डाक्टर रामचन्द्र कँडेल र गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डेसँग पत्रकार विद्रोही गिरीले छलफल गरेका हुन् ।
नवलपुर क्षेत्र नारायणी किनार र चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको हुनाले यस क्षेत्रलाई प्रचारप्रसार गर्न सके चितवनको सौराहा भन्दा आकर्षक गन्तव्य गराउन सकिने विचार राखेका छन् ।त्यस्तै दोस्रो सत्र अन्तर्गत पृथ्वीका अन्तिम डायनासोर घडियाल शीर्षकमा शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डे र डब्लुडब्लुएफ नेपालका स्वच्छ जल कार्यक्रम अधिकृत करुण देवानसँग नेचर फोटोग्राफर सुवास अनिर्जित बस्ताकोटीले संवाद गरे ।
घडियाल संरक्षणको लागि सबैभन्दा पहिला पानीलाई फोहोर गर्न नहुने वक्ताहरूले बताए । उद्योग कलकारखानाले फाल्ने फोहोर पानीलाई सोझै नदीनालामा मिसाउनु मानवीय गल्ती भएको उनीहरूको निष्कर्ष थियो ।त्यस्तै तेस्रो कार्यक्रमका रूपमा मौलाकालिकादेखि त्रिवेणी : सानो जिल्लाको विराटता शीर्षकमा त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधाम क्षेत्र विकास समितिका अध्यक्ष झपेन्द्रश्वर भुसाल र धार्मिक सेवा समिति, मौलाकालिका मन्दिरका अध्यक्ष शालिग्राम सापकोटासँग पत्रकार रमेश बस्ताकोटीले संवाद गरे ।
जिल्लामा थुप्रै पर्यटकीय स्थान भए पनि त्यसलाई स्तरोन्नति गरी ल्याउन नसकिएको वक्ताहरूले बताए । संघीय सरकार, स्थानीय सरकार, राजनीतिक दल र पत्रकार सबैले समन्वयकारी भूमिका खेल्न सके नवलपरासीको पर्यटनलाई माथि उठाउन सकिने छलफलको निष्कर्ष थियो । पहिलो दिनको अन्तिम कार्यक्रमका रूपमा प्रकृति, पर्यटन र साहित्य शीर्षकमा छलफल गरिएको छ । यो सत्रमा लेखक अमर न्यौपाने र ददि सापकोटासँग पत्रकार सूर्यप्रकाश कँडेलले संवाद गरेका हुन् ।
लेखनका माध्यमबाट स्थान विशेषको चर्चा हुने र पाठकले त्यसलाई पछ्याउँदै आउने अमर न्यौपानेले बताए । मदन पुरस्कार प्राप्त आफ्नो कृति सेतो धरती पढेर स्वदेश र विदेशबाट पनि मानिसहरू देवघाट आएको सन्दर्भ उनले सुनाए । अर्का वक्ता ददि सापकोटाले प्रकृतिमा रहेर जीवजन्तु तथा चराचुरुङ्गीलाई संरक्षण गरे मात्रै पर्यटनलाई बचाउन सकिने बताए ।
सापकोटाले जीवजन्तुको आनीबानी र महत्त्व बारेमा चर्चा गरेका थिए ।काव्य उत्सवको दोस्रो दिन सोमबार तीन वटा सेसन भएका छन् । दोस्रो दिनको पहिलो कार्यक्रम अन्तर्गत आँगनीमा लिट् - नेचर गरिएको छ । यो कार्यक्रमलाई लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।कार्यक्रममा एलबी क्षेत्री, धनराज गिरी, लोकनाथ खरेल, दीपक भट्टराई, विष्णुदेवी तिवारी उषा, हेमा आले, अशोक अधिकारी, परिविक्रम , जीवन युगिन र आदर्श सुशीलले प्रकृति संरक्षण सम्बन्धी रचना वाचन गरेका छन् । सोही कार्यक्रममा कवि जीवन युगिनले पूर्वी नवलपरासीको पर्यटनको भविष्य र यसको सम्भावना बारेमा बोलेका थिए । उत्तरमा कालीगण्डकी र पूर्व तथा दक्षिणमा नारायणीले जोडिएको यो क्षेत्रमा सबैखाले पर्यटनलाई प्रबर्द्धन गर्न सकिने सम्भावना रहेको युगिनले बताए ।
त्यसैगरी एलबी क्षेत्री, धनराज गिरी र लोकनाथ खरेलले पनि प्रकृति जोगाएर पर्यटनलाई विस्तार गर्नुपर्ने बताए ।त्यसैगरी गोलमेच पालिका बहस: लगाव र लगानी छलफल कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी, देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा र गैंडाकोट नगरपालिका - १३ का वडाध्यक्ष मधुकर मल्लसँग पत्रकार सञ्जय भट्टराईले कुराकानी गरे ।
त्यस्तै सिने पर्यटन : नवलपरासीदेखि नवलपुर सम्म छलफल कार्यक्रममा सिनेकर्मी, प्राध्यापक, युवा उद्यमी देव भुसाल र कलाकार प्रमोद अग्रहरीसँग रङ्ग पत्रकार गोपीकृष्ण चापागाईँले कुराकानी गरे । सिनेमा मार्फत पनि नवलपरासीको सुन्दरतालाई चित्रण गरी पर्यटन प्रबर्द्धन गर्न सकिने छलफलको निष्कर्ष थियो ।यी छलफलका कार्यक्रम सकिएपछि समापन सत्रमा जिल्लाका दुई व्यक्तित्वलाई सम्मान गरिएको छ । नेपाली साहित्यमा योगदान दिएबापत कवि लोकनाथ खरेललाई ह्याप्पी प्रकृति साहित्य सम्मान -२०८० र पत्रकारितामार्फत जिल्लाको प्रकृति संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान गरेको भन्दै पत्रकार सञ्जय भट्टराईलाई ह्याप्पी प्रकृति संरक्षण पत्रकारिता पुरस्कार -२०८० प्रदान गरिएको छ ।
आभानी मिडिया प्रालिका अध्यक्ष डिल्लीराम कडरिया र प्रबन्ध निर्देशक दिपेश कडरियाले खरेल र भट्टराईलाई नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरेका हुन् । आइतबार र सोमबार गरी दुई दिनसम्म गरिएको कार्यक्रममा नवलपरासी र चितवनका साहित्य सर्जकसँगै देवचुली नगरपालिकाका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागिता थियो ।
काव्य मार्फत् प्रकृति संरक्षणको मुद्दालाई बुलन्द पार्न २०७५ सालमा सुरु भएको घडियाल काव्य उत्सवको पहिलो संस्करण देवचुली नगरपालिकाको मार्कोपोलो र दोस्रो संस्करण पिप्रहरमा गरिएको थियो । आभानी मिडियाद्वारा सञ्चालित १०३।८ ह्याप्पी एफएमको आयोजनामा गरिएको घडियाल काव्य उत्सवमा लोपोन्मुख घडियाल गोही र प्रकृतिको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको ह्याप्पी एफएमका स्टेसन म्यानेजर आदर्श सुशीलले बताए ।