देवचुली
न्यु नवल इङ्गलिस स्कुल देवचुली १० मा पूर्व प्राथमिक तहका विद्यार्थीहरूको प्रदर्शनी तथा अभिभावकहरूको बिचमा खेलकुद कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय प्राङ्गणमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक किरण भट्टराई अध्यक्षता सँगै देवचुली १० का वडा अध्यक्ष रेप्ती कुमार घर्तीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा विद्यार्थीहरू आफैले तयार पारेका विभिन्न शैक्षिक सामाग्रीहरूको प्रदर्शनी गर्दा विद्यालय सँग विद्यार्थी तथा अभिभावकको सम्बन्ध मजबुत हुने भएकाले कार्यक्रमको आयोजना गरिएको प्रधानाध्यापक भट्टराईले बताउनुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि घर्तीले बालबालिकाहरूलाई किताबमा लेखिएका शब्द सँगै व्यवहारिक ज्ञान पनि सिकाउने प्रयत्न गरेकोमा आफूलाई खुसी लागेको बताउँदै आगामी दिनमा पनि यसरी नै विद्यार्थीहरूको प्रतिभाहरूलाई प्रस्फुटन गर्न कार्यक्रमको आयोजना गर्न आग्रह गर्नुभएको थियो।
विद्यालयका सहायक प्रधानाध्यापक यम प्रसाद भुसालले सहजीकरण गर्नुभएको कार्यक्रममा करिब ४ सय अभिभावकको उपस्थिति रहेको थियो। अभिभावकहरूले विद्यार्थीहरूको स्टल हेरेपछि आफूलाई राम्रो लागेको स्टललाई भोट दिएका थिए।
शनिबारको कार्यक्रममा खेम राज भट्टराई, राम प्रसाद मरासिनी ,अभिभावक , विद्यार्थी तथा शिक्षक कर्मचारीको उपस्थिति रहेको थियो।
कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा १ सम्मका विद्यार्थीहरुले विभिन्न कला संस्कृति झल्कने पोसाक , विभिन्न खानाको परिकार सहितको स्टल , विज्ञान प्रविधि, लोक संस्कृति रहन सहन सहित लोक नृत्य, पोषण सम्बन्धी को स्टल, जंक फुड र हेल्दी फुड स्टल , प्राकृतिक सम्पदा, बन्य जन्तु, कृषि, पर्यटन जस्ता विषयको स्टल प्रदर्शनी गरिएको थियो।