देवचुली,
“आर्थिक विकास र स्वरोजगार : समृद्ध देवचुली निर्माणको आधार” भन्ने मुख्य उद्धेश्य सहित देवचुली नगरपालिकाको आयोजनामा नगरपालिका स्तरीय प्रतियोगितात्मक विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुमा रहेको क्षमतालाई प्रष्फुटन गर्ने उद्धेश्यले देवचुली नगरपालिकाको आयोजना र नेपाल नमूना माध्यमिक विद्यालयको समन्वयमा विज्ञान प्रदर्शनी कार्यक्रम गरिएको हो । कार्यक्रममा देवचुली नगरपालिका भित्र रहेका आधारभूत तथा माध्यमिक तह संचालित सामुदायिक र संस्थागत विद्यालय गरि १० वटा विद्यालयको सहभागिता रहेको थियो ।
विज्ञान प्रदर्शनीमा आधारभूत तर्फ दिव्यज्योति आधारभूत विद्यालय प्रथम, माध्यमिक विद्यालय ११–१२ तर्फ पृथ्वी मा.वि प्रथम, माध्यमिक ९–१२ तर्फ सकलादेवि माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ भने भीमसेन आदर्श नमूना माध्यमिक विद्यालय द्धितीय हुन सफल भएको छ ।
कार्यक्रमको उद्धाटन प्रमुख अतिथीका रुपमा रहनुभएका देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेले पानसमा दिप प्रजवलन गरि गर्नुभएको थियो ।
विज्ञान प्रदर्शनी कार्यक्रममा सहभागिता जनाएका विभिन्न विद्यालयका विद्यार्थीहरुले विद्यालयमा सिकेका कुरालाई व्यवहारिक रुपमा उतारेर आँफूहरु भित्र भएको ज्ञान वृद्धि गर्ने अवसर जुटाइदिएकोमा खुशी व्यक्त गरेका थिए ।
उद्धाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख न्यौपानेले विद्यार्थीले हासिल गरेको शिक्षालाई प्रदर्शनी गरि देखाउन सक्नु नै सबैभन्दा महत्वपूर्ण पक्ष रहेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले बालबालिकामा रहेको प्रतिभालाई उजागर गर्न थप सहयोग मिल्ने बताउनुभएको थियो ।
यसैगरि कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्माले विद्यार्थी माझ रहेको प्रतिभालाई व्यवहारिक रुपमा सिकाइ, उनीहरुले सिकेका सिकाई उपलब्धि हासिल गर्न यस प्रकारको प्रतियोगिता र प्रदर्शनी आवश्यकता रहेकाले विगतका वर्षहरु देखि कार्यक्रम गर्दै आइरहेको बताउनुभयो ।
विज्ञान प्रदर्शनीमा दिव्यज्योति आधारभूत विद्यालय, शान्ति सिर्जना आधारभूत विद्यालय, कुमारवर्ती आधारभूत विद्यालय, नेपाल नमूना माध्यमिक विद्यालय, सकलादेवि माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय, जनज्योति नमूना माध्यमिक विद्यालय, जनज्योति माध्यमिक विद्यालय (९–१०), जनज्योति माध्यमिक विद्यालय (११–१२), बरचुली माध्यमिक विद्यालय (९–१०), बरचुली माध्यमिक विद्यालय (११–१२), देवचुली माध्यमिक विद्यालय (९–१०) र देवचुली माध्यमिक विद्यालय (११–१२) लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी तथा अतिथिहरुले विद्यार्थीहरुले तयार पारेका विज्ञान उपकरणहरु तथा स्टलहरुको अवलोकन गरेका थिए । कार्यक्रममा देवचुली नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता नेपाल नमूना माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पवन बुढाथोकीले गर्नुभएको थियो ।
देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण नेपाल नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक शिव प्रसाद देवकोटाले गर्नुभएको थियो । जनज्योति माध्यमिक विद्यालयका प्रधनाध्यापक मीन बहादुर दाहालको संयोजकत्व रहेको मुल्यांकन समितिले विद्यार्थीहरुद्वारा प्रदर्शन गरिएको विज्ञान सामाग्रीहरुको अवलोकन तथा अध्ययन गरि नतिजा प्रकाशन गरेको थियो ।