देवचुली,
देवचुली नगरपालिकामा माघ १५ गते देखि सुरु भएको सेन्ट्रल कलेज अन्तर विद्यालय जिल्लास्तरीय टि-२० क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । सोमबार भएको जिल्लास्तरीय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि देवचुली १५ मा रहेको जनज्योती माध्यमिक विद्यालयले जित हासिल गर्न सफल भएकाे छ । जनज्योति माध्यमिक विद्यालय र भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयबीच भएको फाइनल खेलमा जनज्योति मा.विले भीमसेन आदर्श नमुना मा. विलाई हराउँदै उपाधि जित्न सफल भएको हो ।
फाइनल खेलमा जनज्योति माध्यमिक विद्यालयले भीमसेनलाई ७४ रनले हराएको थियाे । पहिलाे ब्याटिङ गरेको जनज्योती माध्यमिक विद्यालयका आदर्श भट्टराईको ४५ रन र करन सुनारको २१ रनको मद्धतले २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन बनाएको थियो । बलिङतर्फ भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयका कमल भुसाल र दिप्सन भुसालले २/२ विकेट लिएका थिए ।
त्यसैगरी जवाफी ब्याटिङ गरेको भीमसेन आदर्श माध्यमिक विद्यालयले १३ ओभरमा सबै विकेट गुमाउँदै ६० रनमा समेटिएको थियो। भीमसेनबाट सुजल चापागाईले ११ रन र कमल भुसालले ८ रन बाहेक अन्य खेलाडीहरु आउट भएका थिए। फाइनल खेलमा जन ज्योति माध्यमिक विद्यालयका आदर्श भट्टराई "प्लेयर अफ दि म्याच" हुन सफल भएका थिए ।
रोयल क्रिकेट एकेडेमीको आयोजना, देवचुली वडा नम्बर १० को समन्वय र देवचुली नगर युवा तथा खेलकुद विकास समितिको सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।
१६ वर्ष मुनिका खेलाडीहरूको सहभागिता रहने प्रतियोगिताबाट यु–१६ का जिल्लास्तरीय खेलाडी छनोट समेत गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् भने द्वितीय हुने टिमले नगद १५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी देवचुली माध्यमिक विद्यालयका स्वागत पाण्डे, उत्कृष्ट बलर भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयका विशाल भुसाल र उत्कृष्ट ब्याट्स म्यान जन जयोती माध्यमिक विद्यालयका शुभम भण्डारीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । नवलपुर जिल्लाका ८ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए ।