देवचुली,
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय नवलपुरको आयोजनामा देवचुली नगरपालिकामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नगरिकको गुनासो र सुझाव संकलन गर्ने मुख्य उद्धेश्यले देवचुली नगरपालिकामा नागरिक सुनुवाई कार्यक्रम सोमबार सम्पन्न भएको हो । नागरिक सुनुवाई कार्यक्रममा देवचुली नगरपालिकाका जनप्रतिनिधि, स्थानीय वासिन्दाले विभिन्न नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति, चोरी नियन्त्रण, लागू औषध दुर्व्यसनी, दुर्घटना न्यूनीकरण, जन्मदर्ता र नागरिकता सच्चाउने, राष्ट्रिय परिचय पत्रमा ढिलाई र नदिबाट गिट्टि बालुवाको उत्खन्न, पूर्वाधार निर्माणमा ढिलाई, विभिन्न ठाउँमा सिसि क्यामरा जडान लगायतका विभिन्न विषयमा नवलपुर जिल्ला प्रशासन कार्यालय र नवलपुर प्रहरी कार्यालयलाई ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक अधिकारी मुक्तिराम रिजालले जनताप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले नागरिकको गुनासोलाई सम्बोधन हुने गरी नवलपुर प्रशासनले यथाशिघ्र काम गर्ने बताउनुभयो । साथै अधिकारी रिजालले जिल्ला प्रशासनले चालु आर्थिक वर्षमा गरेका विभिन्न गतिविधिको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
यसैगरि नागरिक सुनुवाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक नरहरि रेग्मीले जनतालाई सहज सेवा प्रवाह गर्नका लागि नागरिकको गुनासोलाई सम्बोधन हुने गरी काम गर्ने बताउनुभयो । उहाँले प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले गर्ने कामका विषयमा पनि नागरिकलाई थाहा हुनुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका नायव उपरिक्षक वेद बहादुर पौडेलले जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयबाट चालु आर्थिक वर्षमा प्रहरी गतिविधि तथा कार्य प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वत तिवारीले निर्वाचित भएर आए पश्चात् जनता र नगरको हितको क्षेत्रमा काम गरिरहेको बताउँदै जनताको गुनासो सुनेर स्थानीय सरकार र प्रहरी प्रशासनले छिटो छरितो रुपमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक अधिकारी मुक्तिराम रिजालको अध्यक्षता रहेको कार्यक्रममा देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय अनुसन्धान जिल्ला प्रमुख प्रकाश शाह, देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, देवचुली नगरपालिकाका १७ वटै वडाका वडाध्यक्ष, कार्यापालिका सदस्य, विभिन्न संघसंस्थाका पदाधिकारी, आमासमूह, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण ईलाका प्रहरी कार्यालय रजहरका प्रमुख कमल परियारले गर्नुभएको थियो ।
सार्वजनिक निकायबाट हुने सेवा प्रवाहलाई प्रभावकारी, आम नागरिकमाझ पारदर्शी, सहज पहुँच र सहभागि बनाउने उद्धेश्यले नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । नागरिक सुनुवाई कार्यक्रम मार्फत आएको गुनासो सहितको सल्लाह र सुझावलाई कार्यान्वयन गर्ने नवलपुर प्रहरीले जनाएको छ ।