देवचुली,
देवचुली नगरपालिका वडा नं २ मा रहेको पूनर्वास वस्तीमा जिल्ला रेडक्रस सोसाइटी नवलपुरले सहयोग गरेको छ । बुधबार पूनर्वास वस्तीमा पुगेको जिल्ला रेडक्रस सोसाइटीले त्यहाँका वासिन्दालाई जाडोमा न्यानो बनाउन कम्बल वितरण गरि सहयोग गरेको हाे । करिब १ सय ३ घरधुरि रहेको पूनर्वास वस्तीमा जाडोको समयमा निकै कष्टकर बनेको थियो । दैनिक ज्याला मजदुरीबाट गुजारा गर्ने माझी, मुसहरको कठ्याङ्ग्रीदो जाडोलाई केही न्यानो बनाउन कम्बल वितरण गरि सहयोग गरिएको छ ।
जिल्ला रेडक्रस सोसाइटीले पूनर्वास वस्तीका ९३ घरपरिवारलाई कम्बल वितरण गरेको हो । देवचुली नगरपालिका वडा नं २ का वडाध्यक्ष शरदप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका देवचुली नगरपालिकाका नगरप्रमुख न्यौपानेले यो जाडो समयका दिन दुःखीलाई सेवा गर्नु नै सबैभन्दा धर्मको विषय रहेकाले जिल्ला रेडक्रस सोसाइटीले गरेको यो कार्य निकै सरहानीय रहेको बताउनुभएको थियो । उहाँले देवचुली नगरपालिकाले दिन दुःखीको पहिचान गरि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला रेडक्रस सोसाइटी नवलपुरका सभापति ऋषिराम कंडेलले सदरमुकाममा बन्न लागेको जिल्ला रेडक्रस सोसाइटीको भवनका लागि देवचुली नगरपालिकाले पनि सहयोग गर्नलाई मौखिक रुपमा निवेदन गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका वडाध्यक्ष घिमिरेले जिल्ला रेडक्रस सोसाइटीले पूनर्वास वस्तीलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि रेडक्रसले अन्य स्थानमा रहेका दुःखीलाई सहयोग गर्न अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला रेडक्रस सोसाइटीका उपसभापति डिल्लीराम कडरिया, समाजसेवि कृष्णप्रसाद बस्ताकोटी, यमनाथ बस्ताकोटी, नारायण प्रसाद भण्डारी, देवचुली वडा नं २ का पूर्व वडाध्यक्ष माधव के.सी, ईलाका प्रहरी कार्यालय रजहरका इन्स्पेक्टर कमल परियार, जिल्ला समन्वय समितिका सदस्य सरस्वती पाठक, रजहर खानेपानी उपभोक्ता संस्थाका व्यवस्थापक जीवन शर्मा लगायतको उपस्थिति रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी देवचुली उपशाखाका पूर्व सभापति लक्ष्मी प्रसाद पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी देवचुली उपशाखाका सभापति सुशीला रिमालले गर्नुभएको थियो । न्यानो कम्बल पाएका देवचुली २ पूनर्वासको मुहारमा खुशी छाएको थियो ।