गैंडाकोट
युनिक सेकेन्डरी इङ्गलिस स्कुल गैंडाकोट १६ मा अभिभावक बीच खेलकुद कार्यक्रम सम्पन्न भएको छ। विद्यालयले शहीद दिवसको अवसर पारी हरेक वर्ष आयोजना गर्ने विविध खेलकुद सप्ताहको उद्घाटन गरिएको हो।
विद्यालयले अभिभावकहरूको लागी समूहगत रुपमा डोरी तान्ने , बत्ती कात्ने , बेलुन फुटाउने , बास्केट बल , म्युजिकल चियर लगायतका खेलहरू आयोजना गरेको थियो। कार्यक्रमको अवसर पारी अतिथिहरूको बिचमा समेत पानी पिउने प्रतियोगितामा कार्यक्रमका अध्यक्ष समेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रि सापकोटाले जित हासिल गर्नु भएको थियो।
जिल्ला क्रिकेट संघ नवलपुरका उपाध्यक्ष इन्द्रराज सिग्देलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षता सँगै विद्यालयका प्रिन्सिपल राम प्रसाद शर्मा, वि व्य संघका सदस्यहरू ओमराज गुरुङ , सिर्जना कँडेल सहित भूपू सदस्यहरू सरिता गुरुङ , निर्मला रामदाम , जिल्ला क्रिकेट संघ नवलपुरका सचिव तथा नगर खेलकुद विकास समिति गैँडाकोटका सदस्य विवेक न्यौपाने सहित विद्यालयकी एकेडेमिक हेड सिता भण्डारीको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा कक्षा ४ , कक्षा ६ र कक्षा ९ का विद्यार्थीहरूको नृत्य सँगै कक्षा ७ का विद्यार्थीहरूको फुड स्टल रहेको थियो।
एनसीसी क्याडेटहरुले मार्च पास गर्दै सुरु गरेको कार्यक्रममा विद्यालयकी शिक्षिका देउरुपा पाण्डे र विद्यार्थीको तर्फबाट कक्षा ९ का छात्रा वर्षा अधिकारीको स्वागत मन्तव्य रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिग्देलले विद्यार्थी जीवनमा खेलकुदको महत्व एकदम रहेकाले विद्यार्थीहरूलाई मोबाइलको भन्दा यस्तो शारीरिक रुपमा खेलिने खेलतर्फ रुचि राख्न आग्रह गर्दै खेलकुद सप्ताहको शुभकामना व्यक्त गर्नुभएको थियो।
विद्यालयका प्रिन्सिपल राम प्रसाद शर्माले यसरी विद्यालयले अभिभावकहरूको लागी विविध कार्यक्रमहरू राख्दा सम्बन्ध अझ प्रगाढ भएको र अभिभावकहरूको विद्यालय तर्फ लगाव बढेको बताउनुभएको थियो। यो सँगै उहाँले आगामी फाल्गुनमा अभिभावकहरूको प्रतिभा प्रस्फुटन कार्यक्रमको दोस्रो संस्करण आयोजना गर्ने समेत बताउनुभएको थियो।