देवचुली
लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ देवचुलीको ऐतिहासिक प्रथम अधिवेशन आज शनिबार सम्पन्न भएको छ। आज सम्पन्न कार्यक्रममा तदर्थ समितिका अध्यक्ष रमेश ठाडाको सभापतित्व तथा महासङ्घका केन्द्रिय अध्यक्ष ओम बहादुर थापा घर्ती मगरको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा अबका दिनमा नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढाउने र देवचुली कै नम्बर एक पार्टी बनाउन एक भएर लाग्ने , पार्टी सँगै पालिका भित्रको हरेक क्षेत्रमा आदिवासी जनजातिलाई अनिवार्य सहभागितामा जोड दिने , यस क्षेत्र जनजातिलाई नगर भित्र आरक्षणको सुनिश्चितता गर्ने गराउने कुरामा जोड दिने जस्ता विषयमा महत्वपूर्ण छलफल गरिएको थियो।
कार्यक्रममा नेपाली काँग्रेस नवलपुर क्षेत्र नं १ का सभापति अमृत भट्टचन , आदिवासी जनजाति महासंघ नवलपुरका सचिव इन्द्र फाल मगर तथा नेता अशोक बस्ताकोटी लगायतको विशिष्ट आतिथ्यता सँगै नेपाली कांग्रेस देवचुलीका नगर सभापति डिल्लीराम कडरिया तथा अन्य नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।
यो सँगै आज सम्पन्न अधिवेशनले रमेश बहादुर ठाडाको सभापतित्वमा लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ देवचुलीको नयाँ कार्य समिति समेत गठन गरेको छ।
सभापतिमा ठाडा सँगै उप सभापतिमा सुमित्रा आली र टीकामाया सिँजाली , सचिवमा नेत्र राना र ओमनारायण महतो , सह सचिवमा नर बहादुर महतो र यम श्रेष्ठ सहित सदस्यमा जित बहादुर महतो , खिम बहादुर पुन , पार्वती भुजेल , रोशनी राना , पृथीमा बारघरे , शर्मिला तामाङ्ग , कमल सिङ गुरुङ , निर्मला आले , खुमिसरा गाहा मगर , कला देवी पुलामी , सोम बहादुर थापा र नानु माया गुरुङ लगायतका रहेका छन्।
बाँकी रहेको कोषाध्यक्ष र केही सदस्यहरूलाई पछि मनोनित गरिने अध्यक्ष ठाडाले बताएका छन्।