देवचुली,
देवचुली नगरपालिका वडा नं ८ का सुनौलो हजार दिनका आमाहरुलाई पौष्टिक आहार वितरण गरिएको छ । मंगलबार देवचुली वडा नं ८ को आयोजनामा मिलिजुली आधारभूत विद्यालयमा वडा भित्र रहेका ६५ जना सुनौलो हजार दिनका आमाहरुलाई पौष्टिक खानेकुरा वितरण गरिएको हो ।
आर्थिक बर्ष २०८०/०८१ को विनियोजित १ लाख बजेटबाट सुनौला हजार दिनका आमाहरुलाई चना, अण्डा, नुन र घिउ वितरण गरिएको थियो । देवचुली नगरपालिकाका नगर उप–प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा देवचुली वडा नं ८ का वडाध्यक्ष नुन प्रसाद बाचेको अध्यक्षता रहेको थियो ।
गाउँमा सुत्केरी भएका र गर्भवती भएका आमालाई पौष्टिकयुक्त खानेकुरा खान नपाएमा बच्चालाई कुपोषण तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले पौष्टिक आहार वितरण गरिएको बाचेले बताउनुभएको छ ।
यसैगरि कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएको तिवारीले महिलाहरुले सुत्केरी समयमा पोष्णयुक्त खानेकुरा नखाँदा कति बच्चामा कुपोषण जस्ता समस्या आउने हुँदा सुत्केरी आमाहरुलाई खानेकुरामा विशेष ध्यान दिनका लागि हरेक वडामा यस्ता कार्यक्रम आयोजना गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिकाका पोषण स्वंयसेवक विद्या पौडेलले सुनौला हजार दिनका आमाहरुलाई गर्भवस्थाको समयमा के गर्ने के नगर्ने, के खाने के नखाने, बच्चालाई के खुवाउने जस्ता विभिन्न विषयमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिकाका सामाजिक विकास शाखा संयोजक भूमिसरा आले, वडा नं ८ का वडा सदस्य हरिकला बराल, खेममाया बाह्रघरे, रुपा वि.क, आधारभूत स्वस्थ्य संस्थाका कर्मचारी मनिषा राना र प्रतिभा त्रिपाठी लगायतको उपस्थिति रहेको थियो ।