देवचुली
देवचुली नगरपालिकामा सञ्चालित वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि माथि देवचुली ११ ले कब्जा गरेको छ। आज शनिबार सम्पन्न रोमान्चक तथा प्रतियोगिताकै अन्तिम खेलमा देवचुली ११ ले १६ लाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो।
जितको लागि आजको खेलको म्यान अफ द म्याच समेत रहेका समिर श्रेष्ठले गरेको एक गोल नै निर्णायक गोल साबित भएपछि देवचुली ११ ले सहजै उपाधि आफ्नो पक्षमा पारेको थियो। गत पौष २६ गते देखि सुरु भएको प्रतियोगितामा देवचुली नगर भित्रको १७ वटा समुहको सहभागिता रहेको थियो।
माघे संक्रान्तिको अवसर पारि आयोजना भएको प्रतियोगितामा देवचुली १६ ले देवचुली १५ लाई र देवचुली ११ ले देवचुली १ लाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। यो सँगै प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमश नगद ४० हजार र २० हजारको साथमा मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन्।
आज शनिबार सम्पन्न प्रतियोगिताको समापन समारोहमा देवचुली नगर युवा तथा खेलकुद विकास समिति उपाध्यक्ष अमर घर्तिको अध्यक्षता सँगै देवचुली नगरपालिकाको नगर उप - प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै नगर उप प्रमुख तथा प्रमुख अतिथि समेत रहेका तिवारीले यस्ता खेलकुद प्रतियोगिताले खेलको संरक्षण सँगै नगर भित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गर्न सजिलो हुने बताउँदै आयोजकलाई धन्यवाद व्यक्त गर्दै विजेता तथा उप-बिजेताहरूलाई शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमका अध्यक्ष घर्ती मगरले वडा युवा तथा खेलकुद विकास समिति देवचुली ८ लाई सहकार्यको लागी आभार व्यक्त गर्दै नगर भित्र रहेका खेलाडीहरूको लागी खेल प्रदर्शन गर्ने माध्यम बन्न पाएकोमा खुसी भएको बताउँदै आगामी दिनमा फुटबल सँगै अन्य विधाका खेलहरूलाई आयोजना गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका थिए।
१० दिन सम्म सञ्चालित प्रतियोगितामा देवचुली १६ का दिवस श्रेष्ठ सर्वाधिक गोलकर्ता , देवचुली ११ का विशाल सुनार उत्कृष्ट गोल रक्षक र देवचुली १६ का खुम बहादुर मल्ल उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत हुँदै ट्रफी प्राप्त गरेका छन्।
दिनको २ बजे सुरु भएको फाइनल खेलमा युवा तथा खेलकुद विकास समिति देवचुली ८ का अध्यक्ष सुरज सोतीको स्वागत मन्तव्य रहेको थियो भने देवचुली नगर युवा तथा खेलकुद विकास समितिका सचिव प्रकाश काफ्लेले सहजीकरण गरेका थिए।
कार्यक्रममा देवचुली नगरपालिका भित्रका विभिन्न वडाका वडा अध्यक्ष सहित जनप्रतिनिधिहरु , नगर भित्र रहेका विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु , स्थानिय संघ संस्थाका प्रतिनिधिहरुको अतिथ्यता संगै खेलप्रेमी दर्शकहरुको उल्लासमय उपस्थिति रहेको थियो।