देवचुली,
सामुदायिक प्राकृतिक चिकित्सालयलाई गण्डकी प्रदेश सरकारको निति र बजेटमा निरन्तर राख्ने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभएको छ । गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि तीन दिने भ्रमणमा नवलपुर आउनुभएका पाण्डेले शुक्रबार सामुदायिक प्राकृतिक चिकित्सालयको अवलोकन गर्नुभएको छ । अवलोकन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले सामुदायिक प्राकृतिक चिकित्सालय रजहरलाई यो वर्षको बजेटबाट धेरै–थोरै सहयोग गर्ने विषयमा छलफल भएको बताउनुभयो ।
उहाँले चिकित्सालयको निर्माणाधीन भवनलाई पूर्णता दिन गण्डकी प्रदेश सरकारले निरन्तर बजेटको व्यवस्था गर्ने बताउनुभयो । “यहाँहरुले तयार पार्नुभएको प्रपोजललाई हामीले केन्द्रमा पनि पठाउने छौँ र अपुरो रहेको भवनलाई पूर्ण बनाउन आगामी बर्षको बजेटबाट गण्डकी प्रदेश सरकारले निरन्तर सहयोग गर्नेछ यसमा ढुक्क हुनुहोस् ”, उहाँले भन्नुभयो । अहिले नै यति उति भन्दा पनि प्रदेश सरकारबाट चिकित्सालयलाई प्रत्येक वर्ष बजेट विनियोजनको प्रबन्ध मिलाउने समेत मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।
उहाँले प्रदेशमा आवश्यकताहरु धेरै छ तर स्रोत साधन सिमित रहेकाले भएको स्रोत साधनबाटै आवश्यकताको पूर्ति गर्दै जाने बताउनुभयो । सामुदायिक प्राकृतिक चिकित्सालयले समुदायमा रहेर गरेको कार्यको खुलेर प्रशंसा गर्दै मुख्यमन्त्री पाण्डेले आँफू पनि उपचारका लागि एक पटक चिकित्सालय आउने प्रतिबद्धता जनाउनुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा चिकित्सालयका निर्देशक डा. विनोद पौडेलले सामुदायिक प्राकृतिक चिकित्सालयको पद्धतीबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जि.सि, देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपाने, वडा नं १७ का वडाध्यक्ष गणेश प्रसाद चालिसे (दिपक), विभिन्न राजनीतिक दलका पदाधिकारी, चिकित्सालयका समिति, उपसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सामुदायिक प्राकृतिक चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्रीको अध्यक्षता रहेको थियो । कार्यक्रमको सहजीकरण चिकित्सालयका सचिव प्रदिपराज घिमिरेले गर्नुभएको थियो ।