देवचुली,
पौष २९ गते देखि सुरु भएको प्रथम पिप्रहर माघी मेला २०८० सम्पन्न भएको छ । माघे सङ्क्रान्ति मेलाको जगेर्ना गर्दै स्थानीय उत्पादनको बजारीकरण, जातीय पहिचान तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न आयोजना गरिएको मेला सफलता पूर्वक सम्पन्न भएको मेलाका संयोजक पलट प्रसाद चौधरीले हेर्नेपाटीलाई बताएका छन् ।

चौधरीका अनुसार स्थानीय रैथाने कृषि उत्पादनलाई बढावा दिने, स्थानीय श्रम, सीपको सम्वर्द्धन गर्ने, परम्परागत खानाका परिकारहरू बिक्री गरि स्वरोजगारलाई टेवा दिने, आय आर्जन तथा जिविकोपार्जनको विकास गर्ने, खेलको विकास गरि युवाहरूको व्यक्तित्व विकास गर्ने र स्थानीय कलाकारलाई उजागार गर्ने जस्ता उद्देश्य सहित पहिलो पटक पिप्रहरमा मेला आयोजना गरिएको बताउनुभयो ।

तीन दिन सम्म सञ्चालन भएको मेलामा राष्ट्रिय लोक दोहोरी कलाकारहरू मिलन लामा, राजन कार्की तथा सरू लामिछाने सँगै स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती रहेको थियो । मेलामा स्थानीय कलाकारहरू सपना परियार, दुर्गा सापकोटा, सुरेश अन्जान, अश्मि थापा, टिका राना मगर, प्रकाश खरेल तथा भक्त थापा लगायतको प्रस्तुती रहेको थियो ।

यो सँगै मेलामा भलिबल र ब्याडमिन्टन जस्ता विभिन्न खेलकुद प्रतियोगिताहरु पनि सम्पन्न भएको छ । स्थानीय थारु समुदायको संस्कृति झल्काउने लाठी नाँच, मगर समुदायको कौरा लगायतका प्रस्तुती पनि रहेको थियो । मेलामा थारु समुदायका विभिन्न रैथाने परिकारहरुले मेलामा आउने पाहुनालाई स्वागत गरिएको थियो ।

देवचुली १७ पिप्रहर सामुदायिक होमस्टे ग्राम र होटल, होमस्टे तथा पर्यटन व्यवसायी समितिको संयुक्त आयोजनामा मेला लागेको हो ।

मेलाको अन्तिम दिन आजराष्ट्रिय लोकदोहोरी गायक राजन कार्कीले उपस्थित दर्शकहरुलाई नाच्न बाध्य बनाउनु भएको थियो l कार्कीले आफ्ना पुराना र नयाँ लोक दोहोरि गीतहरु गाउनुभएको थियो भने गायक प्रकाश खरेलको साथमा संजय देवकोटा , अस्मि थापा , दीप काफ्ले , टिकिसरा राना सहित राष्ट्रिय लोक दोहोरि प्रतिष्ठान नवलपुरका कलाकारहरुले पनि मेलामा थप रौनकता थपेको थिरो l