देवचुली
"हमार थारु गाउँमे हावा चलई सरसर" भन्दै जब लोक गायक मिलन लामाले गीत गाउन सुरु गरे तब कार्यक्रम हेर्न उपस्थित दर्शकहरु एकाएक उत्साहित र रोमाञ्चित भए । लामाको छोरो भइकन पनि थारु गीत गाउन खप्पिस मिलन लामाले प्रथम पिप्रहर माघी मेलाको मुख्य दिन माघ १ गते पिप्रहर आएर आफ्ना आधा दर्शनभन्दा बढी गीतहरुले दर्शकलाई खुब नचाए ।
उनले "माझी दाई पोखरा फेवातालको", "घरमा पराल बारीमा बन्सो" लगायत थुप्रै लोक गीत र लोकगायिका दुर्गा सापकोटासँग दोहोरी समेत गाए ।
आइतबारबाट सुरु भएको प्रथम पिप्रहर माघी मेलाको दोस्रो दिन दर्शकको उपस्थिति उल्लेख्य रह्यो।
मेलाको प्रवेशद्वारबाट स्टेज सम्मै दर्शकहरूको थामी नसक्नु भिड थियो। त्यति मात्र नभई मेला परिसरमै खेलाइएको भलिबल हेर्न पनि दर्शकको उत्तिकै उपस्थिति रह्यो। थारु समुदायको परिकारहरू चाख्दै थारुकै झम्टा नृत्य, मगरको कौरा नृत्य र अन्य नृत्यहरू हेर्दै पिप्रहरको माघी मेलामा दर्शकहरूले खुब मनोरञ्जन लिए । दोश्रो दिन गायक मिलन लामासँगै दुर्गा सापकोटा, जनवादी गायक जीवन शर्मा, गायिका अस्मी राना लगायत कलाकारहरुले दर्शकलाई झुम्याय।
दोश्रो दिनको कार्यक्रमको अध्यक्षता होटल तथा होमस्टे एसोसिएसन नवलपुरका अध्यक्ष पलट प्रसाद चौधरीको अध्यक्षता तथा देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रमको सहजीकरण सत्यराज अधिकारीले गर्नुभएको थियो।
यस्तै दोश्रो दिन नै सुरु गरिएको भलिबल प्रतियोगितामा आज ३ वटा खेल सम्पन्न भएका छन्। आज मेलाको दोस्रो तथा प्रतियोगिताको पहिलो दिन भएको ३ वटा भलिबल खेलमा गैंडाकोट १४ , देवचुली १० र गैंडाकोट १५ बिजयी हुँदै अर्को चरणमा प्रवेश गरेको वडा युवा तथा खेलकुद विकास समिति देवचुली १७ का अध्यक्ष विष्णु बहादुर आलेले हेर्नेपाटीलाई बताउनुभएको छ।
आलेका अनुसार अर्को चरण प्रवेशको लागी गैंडाकोट १४ ले देवचुली १७ पहेंलोलाई , देवचुली १० ले गैंडाकोट ११ लाई र गैंडाकोट १५ ले देवचुली १७ निलोलाई पराजित गरेको हो। २ गते सम्म संचालन हुने प्रतियोगितामा बिजेता तथा उपबिजेता हुने समूहले क्रमश नगद २५ हजार र १५ हजारको साथमा मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन्।
यो संगै मेलाको अन्तिम दिन माघ २ गते अर्थात मंगलबार अन्तिम दिन राष्ट्रिय लोकदोहोरी गायक राजन कार्की संगै गायक प्रकाश खरेल , संजय देवकोटा , अस्मि थापा , दीप काफ्ले , टिकिसरा राना सहित राष्ट्रिय लोक दोहोरि प्रतिष्ठान नवलपुरका कलाकार को साथमा स्थानिय कलाकारहरुको प्रस्तुति रहनेछ। मंगलबार नै भलिबल तथा ब्याडमिन्टन प्रतियोगिताको फाइनल खेलहरु पनि हुनेछन्।