चितवन
त्रिशुली र कालीगण्डकी मिसिएको स्थानमा मकर स्नान गर्न भनेर मकवानपुरको बकैया हात्तीसुढेकी शर्मिला लोप्चन दुई वर्षको छोरा काखमा लिएरै आफन्तहरूसँग देवघाट आइन् । अघिल्लो साँझ नै आएक शर्मिलाको समूह सोमबार बिहान झिसमिसेमै देवघाटको दुई नदी संगमस्थल तर्फ लागे । तर उनीहरू त्यहाँ पुग्नै सकेनन् । ५० मिटर वरै नुहाउने मन बनाए ।
संगमभन्दा अलि वरै नुहाएर धुप आरती गर्दै थिए मकवानपुर बुढीचौरका जुलाबसिंह थिङ । उनी पनि श्रीमती, भाञ्जी, नाति, नातिनासहित मकर स्नानका लागि आएका थिए । पर्वत मोदी गाउँपालिका–५ बाजुङबाट आएका १५ जना जसोतसो गरेर संगमस्थलमै पुगेर डुबुल्की लगाए । ‘हामी २० दिनअघि निस्केका हौं । गया, काशी पुगेर फर्कँदा अन्तिममा यहाँ स्नान गर्ने योजना थियो । त्यसैले बेणीमै नुहायौं,’ यमप्रसाद शर्मा आचार्यले भने ।
माघे संक्रान्तिको दिन सोमबार सबेरै पाँच बज्दै गर्दा त्रिशुली र कालीगण्डकीको संगमस्थल जाने बाटो छिचोल्न गाह्रो थियो । त्यसैले कोही अलि वरै नुहाइ रहेका थिए, कोही चितवन तर्फ नै डुबुल्की लगाइ रहेका थिए । दुई नदीकै संगमस्थलमा नुहाउने धोको पुरा गर्नेहरू पनि ठेलम ठेलबीच अगाडि बढ्दै थिए । माघ १ मा देवघाटमा मकर स्नानका लागि देशका हिन्दु र बौद्ध मात्रै नभएर सिमावर्ती भारतीय गाउँबाट समेत आउने चलन छ ।
‘बाला चर्तुदशीमा शतबिज छर्न नै साढे दुई लाखको हाराहारीमा भक्तहरू आएका थिए । मकर स्नानमा त पाँच लाख कसो नआउलान् र,’देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीबहादुर रानाले अनुमान लगाए । हिजो पुस मसान्त आइतबार बिहान साढे नौ बजे देवघाटमा रहेका तीनवटा हरिहर, महेस र गलेश्वर सन्यास आश्रमका प्रमुखहरूले नदी संगमस्थलमा बाँसको लिङ्गो गाडेपछि मकरस्नान औपचारिक रुपमा सुरु भएको हो ।
‘हिजो दिनभरी पनि स्नान चलेकै थियो । साँझमा रोकियो । फेरि मध्यरातबाट क्रम सुरु भयो । बिहान तीन बज्दा नबज्दै ठूलो भिड लागेको थियो,’ अध्यक्ष रानाले भने । देवघाटमा त्रिशुली र कालीगण्डकी माघे संक्रान्तिमै मिलन भएको भन्ने धार्मिक विश्वास छ । ‘यस्तो संगमस्थलमा मकर संक्रान्तिमा प्रातःब्रहृममुहुर्तमा दिब्य अमृत प्रवाहित हुन्छ भन्ने विश्वासले पनि सबेरै नुहाउन आउनेहरू अत्यधिक हुन्छन्,’ अध्यक्ष रानाले भने ।
हिन्दुहरू त्रिशुली र कालीगण्डकी नदीलाई पवित्र नदी मान्दछन् । कालीगण्डकी नदीमा शालिग्राम पनि पाइने भएका कारण यो नदीको विशेष धार्मिक महत्त्व छ । माघे संक्रान्तिमा सबै देवताहरू देवघाटमा स्नान गर्न आउँछन् भन्ने धार्मिक कथनका कारणले पनि यहाँ मकरस्नान गर्नेहरूको परापूर्वकालदेखि नै ठूलो भिड लाग्ने गरेको देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष शिवराज पौडेलले बताए ।
साभारःईकान्तिपुरबाट