देवचुली
अगाडी बयलगाडा र बयलगाडामा माननीयको सवारी। पछिपछि घोडाको टकटक र त्यसको पछि नौमती बाजामा आमा समूह र विभिन्न संघसंस्थाका व्यक्तिहरूको नाचगान र लावालस्कर ।
पौषको ठन्डीयामको आइतबार मध्यान्नमा नवलपुरको पर्यटकीय क्षेत्र पिप्रहरको प्रवेशद्वार फारमचोकको दक्षिणतर्फ देखिएको यो दृश्य कम मनमोहक थिएन। गाउँघरको बाटो, वरिपरि बसेका स्थानीयहरूको उल्लासमय उपस्थिति र स्वागतसँगै अगाडी बढेको शोभायात्राको टोली करिब डेढ किलोमिटर यात्रा गरी सुन्दर नगरी पिप्रहरमा पुग्यो।
शोभायात्रा अगाडी बढ्दै गर्दा कताकति गैंडाका पदचापले कुल्चिएका तोरीका फाँटहरू अनि निलो आकाशमा उडिरहेका चराका बथानहरुले आइतबारको पिप्रहरको मौसम वास्तवमै मनमोहक बनायो। जसैजसै शोभायात्रा अगाडी बढ्दै गयो, शोभायात्राको रौनक झन् बढ्दै गयो ।
जब शोभायात्रा प्रथम पिप्रहर माघी मेलाको सामिप्यमा पुग्यो तब बाटो छेउमा राखिएका थारु जातिका परिकारहरुले आगन्तुकहरुलाई लोभ्याउँदै स्वागत गर्यो ।
कार्यक्रम स्थल वरिपरि थारु जातिको परिकारहरू चिचर घोङ्गी, सिपी, नुमैचा, हाँस र माछाका परिकार, अचार आदिको आकर्षणले पिप्रहार पुग्ने हर कोहीलाई आनन्दित बनायो।
यो सुन्दर र आल्हादित बनाउने दृश्यको वर्णन हो आइतबारबाट सुरु भएको प्रथम पिप्रहर माघी मेलाको । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १७ मा रहेको सुन्दर पर्यटकीय नगरी पिप्रहरमा होमस्टे सञ्चालन भएको धेरै वर्ष बितिसके पनि माघी पर्वको अवसरमा यस्तो रौनक पहिलोपटक देखिएको हो। पिप्रहर सामुदायिक होमस्टे ग्राम, होटल तथा होमस्टे एसोसिएसन तथा देवचुली नगरपालिका वडा नम्बर १७ को संयुक्त आयोजनामा माघी मेला आयोजना गरिएको छ।
आन्तरिक पर्यापर्यटनको प्रचारप्रसार, रैथाने थारु जातिको परिकारको स्वाद, निकुञ्जमा जङ्गल सफारी, नारायणी नदीको सुन्दर दृश्यावलोकन र पर्यटकीय सम्भावनाले ओतप्रोत पिप्रहरको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहिचानका लागि माघी मेलाको आयोजना गरिएको हो । प्रथम पिप्रहार माघी मेलाको आइतबार भएको उद्घाटन कार्यक्रमको प्रमुख आतिथ्यता गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषि मन्त्री माननीय महेन्द्रध्वज जिसीले गर्नुभयो । होटल तथा होमस्टे एसोसिएसनका अध्यक्ष पलट प्रसाद चौधरीको अध्यक्षता रहेको कार्यक्रमको सहजीकरण रिम बहादुर आलेले गर्नुभयो ।
पहिलो दिनको उद्घाटन सत्रमा विभिन्न वडाका वडाध्यक्षहरू, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरू, पर्यटनकर्मीहरू र विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । माघको २ गतेसम्म चल्ने तीन दिने प्रथम पिप्रहर माघी मेलामा लोकदोहोरी गायक मिलन लामा लगायत अन्य चर्चित कलाकारहरूको उपस्थिति र प्रस्तुति रहनेछ । प्रथम पटक आयोजना गरिएको पिप्रहर माघी मेलाले तपाईँ हामीलाई पर्खिरहेको छ।