देवचुली
पौष मसान्त अर्थात् भोलि देखि सुरु हुने ३ दिने प्रथम पिप्रहर माघी मेला २०८० को तयारी पुरा भएको छ। माघे सङ्क्रान्ति मेलाको जगेर्ना गर्दै स्थानीय उत्पादनको बजारीकरण, जातीय पहिचान तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न आयोजित मेलाको सम्पूर्ण तयारी पुरा भएको मेलाका संयोजक पलट प्रसाद चौधरीले हेर्नेपाटीलाई बताएका छन्।
चौधरीका अनुसार स्थानीय रैथाने कृषि उत्पादनलाई बढावा दिने, स्थानीय श्रम, सीपको सम्वर्द्धन गर्ने, परम्परागत खानाका परिकारहरू बिक्री गरि स्वरोजगारलाई टेवा दिने, आय आर्जन तथा जिविकोपार्जनको विकास गर्ने, खेलको विकास गरि युवाहरूको व्यक्तित्व विकास गर्ने र स्थानीय कलाकारलाई उजागार गर्ने जस्ता उद्देश्य सहित मेला आयोजना हुन लागेको हो।
माघ २ गते सम्म सञ्चालन हुने मेलामा विशेष आकर्षणको रुपमा राष्ट्रिय लोक दोहोरी कलाकारहरू मिलन लामा , राजन कार्की तथा सरू लामिछाने सँगै स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ। मेलामा स्थानीय कलाकारहरू सपना परियार , दुर्गा सापकोटा , सुरेश अन्जान , अश्मि थापा , टिका राना मगर , सरू अस्लामी , प्रकाश खरेल तथा भक्त थापा लगायतको प्रस्तुति समेत रहनेछ।
यो सँगै मेलामा घोँगी खाने प्रतियोगिता, तातो आलु, म्युजिकल चियर, सियो धागो, गुच्चा चम्चा, घैँटो फुटाउने, तान डोरी, कबड्डी, भलिबल र ब्याडमिन्टन जस्ता विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ।
देवचुली १७ पिप्रहर सामुदायिक होमस्टे ग्राम र होटल, होमस्टे तथा पर्यटन व्यवसायी समितिको संयुक्त आयोजनामा मेला हुन लागेको हो।