देवचुली,
प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा "एक घर एक धारा" को निति अबलम्बन गर्ने भएको छ । संस्थाको २६ औँ वार्षिक साधारण सभामा बोल्दै संस्थाका अध्यक्ष खिमानन्द भुसालले गरीब तथा विपन्नलाई शौचालय सुधार, जुठेल्नो सुधार र सामाग्री सहायता वितरण कार्यक्रमलाई निरन्तरता दिने बताउँदै उपभोक्ताहरुलाई गुणस्तरीय सुरिक्षत खानेपानी उपलब्ध गराउने बताउनुभयो । संस्थाले अन्य खानेपानी संस्थाहरु बिच सहयोगको आदानप्रदान गर्ने र मर्ज गर्ने नीति लिने अध्यक्ष भुसालले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी रहनुभएका देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीले नेपालकै उत्कृष्ट खानेपानीका रुपमा प्रगतिनगर खानेपानी संस्थालाई चिन्न पाउनु देवचुलीबासीको लागि गौरवको विषय भएको बताउनुभयो । उहाँले प्रगतिनगर खानेपानी संस्थाले उपभोक्ताहरुको हितमा मात्रै नभई सामाजिक कार्यमा पनि उत्तिकै अग्रसर हुँदा खुशी लागेको बताउनुभयो । आगामी दिनमा प्रगतिनगर खानेपानी संस्थाको सुधार र विकासका लागि नगरपालिका सधैंव तयार रहेको बताउनुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष खिमानन्द भुसालले साँगठनिक तथा प्रगति प्रतिवेदन प्र्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष गुना भण्डारीले कोषाध्यक्षको आर्थिक प्रतिवेदन, लेखा सदस्य गिताकुमारी रिजालले लेखा समितिको प्रतिवेदन र खानेपानी सुरक्षा योजना उप–समितिका सचिव लेखनाथ अर्यालले सुरक्षा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पानी महसुल आम्दानीबाट १ करोड ७० लाख ८२ हजार ८५ रुपैंया आम्दानी गरेको छ । संस्थाका कोषाध्यक्ष गुना भण्डारीले आर्थिक बर्ष २०८०/०८१ का लागि ४ करोड ७५ लाख ७० हजार रुपैंया प्रस्तावित बजेट विनियोजन गरिएको बताउनुभयो ।
कार्यक्रममा उपभोक्ताको तर्फबाट रुद्र प्रसाद चापागाई, विमला अधिकारी,गिता कोइराला, कृष्ण प्रसाद गौतम, देवचुली वडा नं १० का वडाध्यक्ष रेप्तीकुमार घर्ती, १३ का वडाध्यक्ष एकदेव पौडेल, वडा नं १४ का वडाध्यक्ष गोपाल थापा, नगर प्रवक्ता एवम् वडा नं ११ का वडाध्यक्ष तिल प्रसाद काफ्ले, संस्थाका सल्लाहकार सत्यनारायण भुसाल, रामप्रसाद मरासिनी, देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा ५ हजार २ सय ८२ उपभोक्ता सदस्य रहेका छन् । उपभोक्ताहरुलाई सफा र सुरिक्षत खानेपानीको पहुँचको लागि नियमित रुपमा पानीको गुणस्तर परिक्षण गर्दै आइरहेको संस्थाले २४ सैं घण्टा पानी वितरण गर्ने गरेको छ । विश्व स्वास्थ्य संगठनले तय गरेका सुचक र मापदण्ड पुरा गरी सुरिक्षत र प्रभावकारी सेवा सहित नमूना खानेपानी योजना निर्माण गर्ने संस्थाले लक्ष्य राखेको छ । संस्थाका उपाध्यक्ष दुर्गा देवि विष्टले स्वागत मन्तवय राख्नुभएको कार्यक्रमको सहजीकरण सचिव इन्द्रमणी भुसालले गर्नुभएको थियो ।