देवचुली,
देवचुली नगरपालीका वडा नं ९ मा रहेको विशालटार खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २२ औ साधारण सभा सम्पन्न भएको छ । शनिवार संस्थाका अध्यक्ष मोहन बहादुर आलेको अध्यक्षतामा सम्पन्न साधारण सभाको प्रमुख आतिथ्यता गण्डकी प्रदेशका सांसद माननीय रोशन बहादुर गाहाले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाहाले विशालटार खानेपानी संस्थाले विगतका उपभोक्ताहरुलाई गुणस्तरीय खानेपानी वितरण गर्न सफल भएकोमा शुभकामना व्यक्त गर्दै संस्थाको विकासका लागी प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो ।
कार्यक्रममा देवचुली नगरपालिका वडा नं ६ का वडाध्यक्ष मीन बहादुर सोती, ८ का वडाध्यक्ष नुन प्रसाद बाचे, ९ वडाध्यक्ष बलिराम सापकोटा, घुमाउरी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पार्वती रावल, नेकपा एमालेका अध्यक्ष राम प्रसाद पन्त, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष मोहन बहादुर आलेले निति तथा कार्यक्रम, सचिव भरतराज आचार्यले प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्णमाया सिंजालीले आर्थिक प्रतिवेदन र लेखा संयोजक खगराज कंडेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाको प्रगतिमा विभिन्न समयमा टेवा पुर्याउनुहुने महानुभावहरुलाई दोसल्ला ओढाई प्रमाण पत्रले सम्मान गरिएको थियो ।
आर्थिक वर्ष २०८०/०८१ मा संस्थाले आफ्नै जग्गामा निर्माणाधीन भवन सम्पन्न गरि आफ्नै कार्यलय भवनबाट सेवा प्रवाह गर्ने योजना बनाएको छ । यस्तै आवश्यकता अनुसार पाइपलाइनको काम निरन्तर अघि बढाउने, लामी डाडदेखि मन्दिर डाडा सम्मको मुख्य पाइपलाइनको काम सम्पन्न गरि पुरानो र नयाँ दुवै लाइनबाट पानी संचालनमा ल्याई २४ सै घण्टा पानी वितरण प्रभावकारी बनाउने, बोरिङ्गको काम सम्पन्न गरि संचालनमा ल्याउने जस्ता थुप्रै योजना रहेको संस्थाका अध्यक्ष आलेले बताउनुभयो । खानेपानी संस्थाले करिब ६ सय घर धुरीका ३ हजार भन्दा बढि उपभोक्ताहरुलाई पानी वितरण गर्दै आइरहेको छ । कार्यक्रमको सहजीकरण संस्थाका सचिव भरतराज आचार्यले गर्नुभएको थियो ।