देवचुली
समृद्ध नवलपुर इन्भेस्टमेन्ट कम्पनी प्रा.ली.को प्रथम अधिवेशन तथा दोस्रो र तेस्रो साधारण सभा आज एकै पटक सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष प्रकाश भुसालको अध्यक्षता तथा बरिष्ठ शेयर सदस्य चोक नारायण भुसालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा अध्यक्ष भुसालले प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीको विगत देखि हाल सम्मका उतारचढावको बारेमा बताउँदै कम्पनीले हाल आफ्नो शेयर लगानी रहेको विभिन्न संस्थाको नामहरू सुनाएका थिए। कम्पनीले हाल कृषि विकास बैंक , फरवार्ड लघुवित्त , शिखर इन्स्युरेन्स , आरम्भ चौतारी लघुवित्त , नेशनल माइक्रो फाइनान्स , मैलुङ खोला जलविद्युत , निर्धन उत्थान लघुवित्त , अप्पर तामाकोसी र नेपाल बैंक लिमिटेडमा आफ्नो शेयर लगानी गरेको छ।
कम्पनीका कार्य समिति सदस्य गोविन्दराज कोइरालाको स्वागत मन्तव्य रहेको कार्यक्रममा लेखा संयोजक चिरञ्जीवी शर्मा राजनले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए।
लेखा संयोजक शर्माले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को सम्पूर्ण हिसाबकिताबको सारांश प्रस्तुत गरेका थिए।
कम्पनीका सदस्य गिरिराज गौतमको सहजीकरण रहेको कार्यक्रममा बोल्दै वक्ताहरूले संस्थालाई आगामी दिनको लागी सफलताको शुभकामना व्यक्त गरेका थिए । कम्पनीको आज नै भएको अधिवेशनबाट प्रकास भुसालको अध्यक्षतामा ५ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ। नव गठित समितिको सदस्यहरुमा गिरिराज गौतम , गोविन्दराज कोइराला , दिपक पोख्रेल र अशोक कुमार थापा लगायतका रहेका छन्। यो संगै लेखा समितिमा चिरन्जीवी शर्मा राजनको संयोजकत्वमा शेषकान्त कोइराला र रामचन्द्र ठकुरी सर्वसम्मत चयन भएका छन्।