देवचुली,
नवलपुरको गैंडाकोट नगरपालिका वडा नं १५ मा रहेको अमरापुरी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको २८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार अमरापुरी पार्टी प्यालेसमा संस्थाका अध्यक्ष भुपेन्द्र भण्डारीको अध्यक्षता तथा दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष गोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले सहकारी संस्था गत बर्ष भन्दा यस बर्ष नाफामा रहेको बताउँदै कर्मचारीले संस्थालाई अगाडि बढाउन बफादार भएर लागेको बताउनुभयो । उहाँले पशुपालन क्षेत्रमा पछिल्लो समय धेरै विडम्वना आइरहँदा सरकार मौन रहेकोमा दुःख व्यक्त गर्दै सहकारीले किसानको हकहितमा रहेर काम गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष भण्डारीले अध्यक्षको प्रगति प्रतिवेदन, सचिव ईश्वरीसापकोटाले सचिवको प्रतिवेदन, कोषाध्यक्ष ख्याम नारायण लम्सालले कोषाध्यक्षको प्रतिवेदन र लेखा संयोजक रविलाल खरालले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष भण्डारीले संस्थाले आ.व. ०८०/०८१ मा दुग्ध परिकारको बजारीकरण गर्ने कार्यलाई प्राथमिकता दिने, कृषकहरुका पशुको निःशुल्क उपचारको व्यवस्था गर्ने, संचालक समिति तथा कर्मचारी दुर्घटना विमाको व्यवस्था गर्ने जस्ता कार्यक्रमलाई भावी दिनमा पनि निरन्तरता दिने बताउनुभयो । कोषाध्यक्ष लम्सालले अमरापुरी बहुउद्धेश्यीय सहकारी संस्थाले आर्थिक बर्ष २०७९÷०८० मा कुल १७ लाख ९१ हजार २ सय ६४ शुद्ध नाफा गरेको बताउनुभयो ।
साधारण सभामा शेयर सदस्य र एस.ई.ई उत्तीर्णहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । सो अवसरमा अधिकतम दुध उत्पादक, फरक क्षमता भएका शेयर सदस्य, दलित जनजाती शेयर सदस्य, उत्कृष्ठ बाल बचत, दैनिक बचत, असल ऋण लगायत सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गरि माध्यमिक शिक्षा परिक्षा (एस.ई.ई) मा नतिजा ल्याउने देवचुली र गैंडाकोटका विद्यार्थीहरुलाई सम्मान तथा नगद सहित पुरस्कृत गरिएको थियो । सहकारी संस्थाले आफ्नो २८ औँ वार्षिक साधारण सभाको अवसरमा विभिन्न विधामा २८ जनालाई सम्मान गरेको छ ।
कार्यक्रममा अमरज्योति माध्यमिक विद्यालयका दुर्गादत्त सापकोटा, जनमुखी आदर्श कलेजका प्रधानाध्यापक केशवप्रसाद घिमिरे, अमरापुरी बहुउद्धेश्यीय सहकारी संस्थाका सल्लाकार ज्ञान बहादुर पोख्रेल, विष्णु प्रसाद कंडेल, मन बहादुर रानाभाट र तेजेन्द्र सापकोटा, छाहरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्द राज तिमिल्सना, गैंडाकोट वडा नं १७ का अध्यक्ष गोपी कंडेल, अमरापुरी बहुउद्धेश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष भगवान प्रसाद काफ्ले लगायतले शुभकामना व्यक्त गरेका थिए ।
२८ औं बार्षिक साधारण सभा कार्यक्रममा संस्थाका शेयर सदस्य, विभिन्न सामाजिक व्यक्तित्व, सहकारी अभियान्ता लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष श्याम बहादुर क्षेत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाका सचिव ईश्वरी प्रसादले सहजीकरण गर्नुभएको थियो ।